ग्यास ‘लिक’पछि ‘स्विच स्पार्क’ हुँदा भयो विष्फोट !

काठमाडौं । बुधबार राति काठमाडौंको बुद्धनगरमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको निवासमा भएको आगलागीको घटनामा एलपी ग्यास सिलिन्डर विस्फोट नभएर ग्यास ‘लिक’ भएपछि आगलागी भएको पाइएको छ ।

प्रहरीले घटनामा ग्यास सिलिन्डर विस्फोट नभएर ग्यास लिक भएपछि बिजुलीको ‘स्विच स्पार्क’ हुँदा आगलागी भएको र घटनामा मानवीय क्षति हुनेसम्मको अवस्था आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले घटनामा एलपी ग्यास सिलिन्डर विस्फोट नभई घटनाका बखत एलपी ग्यास सिलिन्डरबाट ग्यास लिक भएको र अत्यधिक ग्यास लिक भएपछि कोठामा फैलिएको अवस्थामा तत्कालै बिजुलीको स्विच अन अफ गर्दा स्विच स्पार्क भएपछि त्यही झिल्कोले आगलागी भएको जानकारी दिए ।

‘घटनामा एलपी ग्यास सिलिन्डर विस्फोट भएको देखिएन, एलपी ग्यास सिलिन्डरबाट अत्यधिक ग्यास लिक भएर कोठामा फैलिएको अवस्थामा तत्कालै बिजुलीको स्विच स्पार्क हुँदा त्यही झिल्कोले आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी कार्कीले राजधानीसँग भने ।

आमाको कीर्तिपुर ‘वर्न’ अस्पतालमै निधन

घटनापछि भण्डारीको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धान गरिरहेको छ । सो टोलीले पनि ग्यास सिलिन्डर विस्फोट नभई ग्यास लिक भएर कोठामा फैलिएको ग्यासमा एक्कासि बिजुलीको स्विच अन गर्दा ठूलो आवाजसहित आगलागी भएको हुन सक्ने औंल्याएको छ ।

आगलागीबाट आमा हरिकला जल्दै गर्दा माथिल्लो तलामा बस्ने चन्द्रका भाइबुहारी तथा छिमेकी आएर आगो नियन्त्रणको प्रयास गरेका थिए । कांग्रेस नेता चन्द्र भने आमाले ग्यास लिक भएको सुनाएपछि सो कोठामा प्रवेश गरेका थिए भने उनले नै बिजुलीको स्विच अन गर्दा घटना भएको हुन सक्ने अनुमान छ ।

ग्यास लिक भएपछि आगलागीमा परेर घाइते भएका कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पुर्याइएको छ । उनको शरीरको ३० प्रतिशत भाग जलेको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ । भण्डारीलाई भारत लगिएको विमानमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ ।

नर्भिकबाट ६ जना चिकित्सकको टोली सो विमानमा सँगै गएका छन् । ६ जनाको टोलीमा तीन जना डाक्टर र तीन जना पारामेडिक्स छन् । भण्डारीलाई लगिएको विमानमा नर्भिक अस्पतालका क्रिटिकल केयर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा. वृहस्पति र फ्लाइट डाक्टर डा. रोशन शर्मा छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ छन् ।

आगलागीमा परेर घाइते भएका चन्द्र र उनकी आमा हरिकला भण्डारीलाई बुधबार राति घटनापछि तत्कालै कीर्तिपुर वर्न अस्पताल पु¥याइएको थियो भने हरिकलाकोे उपचारकै क्रममा बिहीबार बिहान निधन भएको थियो ।

हरिकलाको निधनपछि अस्पतालले कांग्रेस नेता चन्द्र भण्डारीलाई पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार सम्भव नभएपछि आवश्यक थप उपचारका लागि अन्यत्र लैजान सुझाएको थियो । अस्पतालको सुझावअनुसार उनलाई श्री एयरको विमानमार्फत एयर एम्बुलेन्सको सुविधासहित थप उपचारका लागि भारतको मुम्बई लगिएको हो । उनको मुम्बईस्थित सुविधासम्पन्न नेसनल वर्न सेन्टरमा उपचार सुरु भइसकेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९०६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डको च्याँखे दाउ, पाँचै वर्ष प्रधानमन्त्री रहने प्लान !