काठमाडौँ, खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
त्यससँगै ग्यासका सिलिन्डर, रेगुलेटर, पाइप र चुलोको प्रविधि र गुणस्तर दुर्घटना कम गर्न उत्तिकै महìवका हुन्छन् । आवश्यक मापदण्ड पूरा नगरी अति प्रज्वलनशील ग्यास सिलिन्डर बजार पठाउने र यसको प्रयोगबारे उपभोक्तालाई पर्याप्त जानकारी नहुँदा दुर्घटना भई जनधनको क्षति हुने गरेको हो ।
मापदण्डविपरीतका कुच्चिएका सिलिन्डर, कमसल रेगुलेटर र पाइपको प्रयोग, नियमन गर्ने निकायको प्रभावकारी नियमन र गुणस्तर परीक्षणमा कमजोरी रहँदा दुर्घटना हुने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन सरकारकै कमजोरीका कारण ग्यास दुर्घटना बढ्दैगएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उद्योगीले मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाएका छन् कि छैनन् र गुणस्तरयुक्त पाइप, रेगुलेटर बजारमा बिक्री भए कि भएन भन्ने अनुगमन नै छैन ।”
गुणस्तरहीन सामान प्रयोगले लिकेज भएर पनि दुर्घटना हुने गरेकोमा उपभोगबारे जनचेतना कार्यक्रम गर्नुका साथै गुणस्तरहीन कमसल रेगुरेटर पाइपलगायतका सामान आयातमा प्रतिबन्ध लगाउनुपर्ने उहाँको सुझाव छ ।
विशेष गरी ग्यास भल्ब, पिँध, रेगुलेटर, चुलोबाट बढी लिक हुने गर्छ । बोटलिङ प्लान्टबाट भरिएका सिलिन्डर गाडीमा राख्दा, ठोक्किएर, गुडाउँदा कुुच्चिएर लिक हुने हुन्छ । नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐ ३०३७ अनुसार मापदण्डबमोजिम ग्यास उद्योगीले सिलिन्डरको अनिवार्य हाइड्रोलिक परीक्षण गर्नुपर्छ ।
ग्यास भर्ने बेलामा, नयाँ सिलिन्डर बजारमा पठाएपछि प्रत्येक १०÷१० वर्षमा, त्यसपछि पाँच÷पाँच वर्षमा र त्यसपछि तीन वर्षमा हाइड्रोलिक परीक्षण गर्नुुपर्छ तर व्यवसायीले अनिवार्य रूपमा हाइड्रोलिक परीक्षण नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी महर्जनको भनाइ छ । बजारमा र उपभोक्ताका भान्सामा धेरै पुुराना परीक्षण नगरिएका सिलिन्डर पठाइन्छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशप्रसाद मल्लीले भने गुणस्तरको मापदण्ड पूरा गरेर सिलिन्डर बजारमा पठाउने गरेको बताउनुभयो । उहाँले सही तरिकाबाट प्रयोग गर्न नजान्दा नै बढी दुर्घटना हुने दाबी गर्नुभयो । उहाँले यसबारे स्थानीय तहबाट र पाठ्यक्रममै राखेर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
ग्यास उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट आवश्यक पूर्वाधार तयार गरेर मात्र ग्यास भरेर बजारमा पठाए नपठाएको हेरेर मात्र ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गर्नुपर्ने हुन्छ तर गुणस्तर चिह्न नलिएका ग्यास पनि बजारमा छन् । मुलुकभर ५९ वटा ग्यास उद्योग सञ्चालनमा रहेकोमा ५० वटाले मात्र गुणस्तर चिह्न लिएका छन् ।
त्यस्ता उद्योगको र अन्य उपकरणको अनुगमन नहुने गुनासो छ तर विभागका महानिर्देशक दीनानाथ मिश्रले ग्यास उद्योगमा नियमन अनुगमन गर्ने र मापदण्ड पूरा नगर्नेलाई कारबाही गर्ने गरिएको दाबी गर्नुभयो । गुणस्तर मापदण्ड पूरा नगर्ने उद्योगलाई गुणस्तर प्रमाणीकरण चिह्न नदिने गरेको उहाँको भनाइ छ ।मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई उत्पादनमा रोक लगाउनेसम्मको कानुनी व्यवस्था छ तर अहिलेसम्म कुनै पनि कारबाही नभएको महर्जनका आरोप छ ।
गुणस्तरीय सामान आवश्यक
ग्यासमा प्रयोग हुने अन्य उपकरण पनि गुणस्तर चिह्न प्राप्त हुनु पर्दछ तर बजारमा कम गुणस्तरका रेगुलेटर, पाइप र चुलो छ्याप्छ्याप्ती छन् । अध्यक्ष मल्लीले रेगुलेटर, पाइप र चुलो उच्च गुणस्तरको हुनुपर्नेमा खुला सिमानाका कारण कम गुणस्तरका सामग्री भित्रिँदा लिकेज भई र गुणस्तरको सिलिन्डर भए पनि प्रयोग गर्न नजान्दा दुर्घटना बढी हुने गरेको बताउनुभयो ।
नेपाल आयल निगमले भने दुर्घटना कम गर्न आफ्नो भूमिका कम हुने जनाएको छ । निगमले ग्यास आयातका लागि खरिद आदेश (पीडीओ) मात्र जारी गर्ने र निजी उद्योगीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गरी बोटलिङ प्लान्टमा रिफिलिङ गरेर बजारमा पठाउने हुँदा निगमको भूमिका रहन्न ।
तथापि निगमका एलपीजी विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले ग्यासको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले पनि गुणस्तर निर्धारण, नियमन र अनुगमन गर्ने काम गुणस्तर विभागको रहेको बताउनुभयो । नेपाल ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले ग्यासको दुर्घटनाबाट रोक्न यसको प्रयोगबारे स्थानीय तहबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।