माओवादीलाई फकाउँदै कांग्रेस, रामचन्द्र पौडेल राष्ट्रपति ?

काठमाडौँ – पूर्वसहमतिअनुसार माओवादी एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा नरहेको बुझेका ओलीले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

ठाकुरलाई माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा अघि सार्न सक्ने बुझेका ओलीले सोही अन्तर्गत कुरा गरेको स्रोतको दाबी छ। यद्यपि राष्ट्रपतिमा एमालेका तर्फबाट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केशव बडाल, अष्टलक्ष्मी शाक्यसहितका नेताका नाम चर्चामा छन्।

ओलीले प्रधानमन्त्री दाहाललाई अप्ठ्यारोमा पार्नेगरी चीनका पूर्वराजदूतसमेत रहेका पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपतिमा अघि सार्न सक्ने पनि बताइएको छ। माओवादी केन्द्र भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा यस्तै व्यक्तिलाई अघि बढाउने पक्षमा छ।

दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर विपक्षमा बसेको नेपाली कांग्रेस भने माओवादीको समर्थनमा आफूनिकट नेतालाई राष्ट्रपति बनाउने पक्षमा देखिएको छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिएर अघि बढ्ने पक्षमा छ। त्यसमा इतर पक्षबाट पनि दाहाललाई आश्वस्त बनाउन महामन्त्री गगन थापामार्फत संवाद थालिएको स्रोतको दाबी छ।

थापाले प्रधानमन्त्री दाहालसहित माओवादीका विभिन्न तहका नेतासँग छलफल सुरु गरेका छन्। दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएकोमा असन्तुष्ट थापाले राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस उम्मेदवार नै राष्ट्रपति बन्ने जिकिर गरेका थिए।

कांग्रेसबाट नेता रामचन्द्र पौडेललाई सम्भावित राष्ट्रपति उम्मेदवारका रूपमा हेरिएको छ भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठका साथै पूर्वसभामुख दमननाथ ढुंगानाका नाम पनि चर्चामा छन्।

प्रकाशित : शनिबार, माघ २८, २०७९०८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्ड र ओलीबीच लफडा, बैठकमा भयो भनाभन !