काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।
सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचनबारे खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउनेबारे छलफल भएको उनले बताए ।
‘राष्ट्रपति चुनावबारे छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामबारे समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’
लिङ्देनले भनेजस्तै राष्ट्रपति निर्वाचनबारे थप छलफल गर्नुपर्ने आवश्यक छैन । सरकार गठन गर्नुभन्दा अघि सत्तारूढ दलबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुखसहितका पदमा भागबन्डा भइसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा गर्दै गर्दा एमाले अध्यक्ष ओलीले समझदारी बिगार्ने काम कोही नगरोस् भन्दै दिए चेतावनीतर, उच्चस्तरी संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यक्ताबारे बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।
‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए ।