काठमाडौं । सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देसको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ । यसरी नक्कली मदिराको बिगबिगी देखिएपछि काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
काठमाडांै उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गर्ने क्रममा राजधानीमा स्वदेशी र विदेशी ब्रान्डका नाममा नक्कली मदिरा बिक्री हुने गरेको तथ्य फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा उत्पादन र बिक्री कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा कालीञ्चोक गाउँपालिका–३ का निरज उप्रेती, काठमाडौंको गोंगबु मित्रनगरस्थित एसटी लिक्विर स्टोरका सञ्चालक स्याङजा गल्याङ नगरपालिका–९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–२ स्थायी घरभई हाल ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।
यस्तो अवैद्य नक्कली मदिराको कारोबारमा संलग्नलाई सार्वजनिक गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको खाली बोतल, राजस्व÷ अन्तःशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने सामान र मेसिनलगायत विभिन्न सामग्री बरामद गरिएको बताए ।
केसीले बजार अनुगमनको क्रममा प्रहरीले नक्कली गोल्डेनवाक ६ बोतल, ८ हजार ८ सय ४८ भोड्का ४८ बोतल, मुगलान ४ सय २० बोतल, २ हजार २० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १ सय ३२ बोतल बरामद गरेको जानकारी दिए ।
यसैगरी, उनले यस्तो धन्दामा संलग्नबाट विदेशी ब्रान्डका महँगा डबल ब्ल्याक लेबल, रेडलेबलसहितका विभिन्न बोतल पनि बरामद गरिएको बताए । गत १३ माघमा प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर स्टोरमा खानतलासी गरेको थियो ।