सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु !

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ । एमालेका उपमहाचिव प्रदीप ज्ञवालीले आइतबार एक कार्यक्रममा बोल्दै सत्ता गठबन्धन टुटाएर मुलुकलाई अस्थिर बनाउने खेल सुरु भएको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र वर्तमान सत्ता गठबन्धन टुटाएर अर्को गठबन्धन बनाउन लागेको र त्यसले अस्थिरता सिर्जना हुने उनको भनाइ थियो ।

स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षमा छन् ।

तर, प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन फेर्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले विभिन्न किसिमको दबाब दिइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस र एकीकृत समाजवादीका नेता राष्ट्रपति निर्वाचनसँगै गठबन्धन टुटाउन अग्रसर हुन थालेका छन् । यसका लागि कांग्रेस र एकीकृत समाजवादीका नेता रातदिन भेटघाट र योजना बनाउने कार्यमा सक्रिय भइरहेका स्रोतको दाबी छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठन हुनुअघि एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भएको थियो । सो सहमतिअनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । राष्ट्रपति चयन हुन बाँकी रहँदा एमाले र माओवादीबीच राष्ट्रपतिको विषयलाई लिएर विवाद बढाउन शक्तिकेन्द्र दौडधुपमा लागेको स्रोतको दाबी छ ।

कांग्रेस र एकीकृत समाजवादीका नेता एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको विषयमा गरिएको सहमति तोड्न सकेमा वर्तमान सत्ता समीकरण स्वतः भत्कने विश्वासमा छन् । त्यसैले, उनीहरू राष्ट्रपति एमालेलाई नदिने वातावरण बनाउन सक्रिय रहेका बताइन्छ । स्रोतका अनुसार माओवादी केन्द्रलाई प्रयोग गरेर एमालेबाट राष्ट्रपतिमा उम्मेदवार बनेकालाई पराजित गर्नसके एमाले स्वतः सत्ताबाट बाहिरिने र वर्तमान सत्ता समीकरण टुट्न सक्ने विश्वास उनीहरूको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरण टुटाउन आफू निकटस्थलाई दौडधुपमा लगाइरहेका छन् । उता सत्ता समीकरणको दोस्रो ठूलो घटक दल माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकार, शक्ति बस्नेत, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायतका नेता एमालेसँगको सत्ता समीकरण भत्काएर कांग्रेससँगको नयाँ सत्ता समीकरण बनाउने योजनामा लागेको माओवादीनिकट स्रोतले जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै नयाँ सत्ता समीकरण बनाउने आन्तरिक गृहकार्य थालेको थियो । कांग्रेसभित्र संस्थापनइतरका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता भने प्रचण्डलाई विश्वासको मत दिन नहुने र सत्ताको खेलमा अल्झन नहुने पक्षमा थिए । तर, उनीहरूको अवाज पार्टीभित्र निम्सरो बन्न पुगेको थियो ।

प्रकाशित : सोमबार, माघ १६, २०७९०८:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बजारमा नक्कली मदिराको बिगबिगी !