आफ्नो पावर बढाउन प्रचण्ड र माधव अगाडी बढे, पाँच कम्युनिष्ट एक ठाउँमा हुने सम्भावना ! को-को ?

काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।

जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।

जसपा र एकीकृत समाजवादीबीच विभिन्न चरणमा छलफल भइसकेको छ । अहिले दुवै पार्टीको वार्ता टोलीमा रहेका नेताले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।

उता, एकीकृत समाजवादी माओवादी केन्द्रसँग समेत एकीकरणका लागि दस्तावेज अध्ययन गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय निर्वाचनपछि एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल भएको थियो । तर, संघीय र प्रदेशसभा निर्वाचनमा जुटेकाले एकीकरण प्रक्रिया रोकिएको थियो ।

निर्वाचनअघि नै माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकीकरण सहमति भइसकेको छ । सो सहमतिअनुसार नेसपाका नेता माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा सहभागी भए । केही दिनभित्रै दुवै पार्टी एकीकरणको औपचारिक घोषणा तयारीमा छन् ।

तर, सो एकीकरणअघि अन्य दलबीचसमेत सहमति जुटाएर एकै चरणमा एकीकरण घोषणा तयारीमा शीर्षनेता छन् । विभिन्न चरणमा पार्टी एकताका लागि जुटेका दलले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)लाई समेत एकीकरण प्रक्रियामा सहभागिता लागि पहल थालेका छन् ।

एकीकृत समाजवादी उपमहासचिव एवं वार्ताटोली सदस्य प्रकाश ज्वाला पार्टी एकीकरणका लागि भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको बताउँछन् । विभिन्न चरणमा छलफल भएको बताउँदै उनले धेरै विषयमा सहमति जुटिसकेको दावी गरे ।

‘अहिले हामी एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छौं । यसबीच पटकपटक छलफल भयो, साझा विषय त्यतिकै सहमति हुने नै भयो, सहमति हुन नसकेको विषयमा शीर्षनेता बसेर टुंगो लगाउनुहुन्छ,’ ज्वालाले राजधानीसँग भने ।

एकीकृत समाजवादीबाट वार्ता टोली संयोजकमा महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव ज्वालासहित अर्का उपमहासचिव डा. विजय पौडेल वार्ता टोली सदस्य छन् ।

यसैबीच, मंगलबार एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान संयोजक वामदेव गौतमबीच एकता छलफल भएको छ ।

एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा अध्यक्ष नेपालले एकीकृत समाजवादीमा प्रवेश गरी एकताबद्ध तरिकाले अगाडि बढ्न प्रस्ताव गरेको ज्वाला बताउँछन् । नेपालको प्रस्तावमा गौतमले छिट्टै निर्णय गरेर जवाफ दिने बताएका छन् ।

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा नेता उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता टोली गठन गरेको छ ।

यसैगरी, जसपाबाट वार्ताटोली संयोजकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् ।

टोलीमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच ‘गोप्य छलफल’पछि पार्टी एकीकरणका लागि वार्ता टोलीले आन्तरिक गृहकार्य तीव्र पारेको हो ।

प्रकाशित : बुधबार, माघ ११, २०७९०७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छ जनाको शव पहिचान हुन बाँकी, अब डीएनए परीक्षण गरिने !