अस्पतालले मृत घोषणा गर्यो, तर दाहसंस्कार गर्न लैजाँदा लैजाँदा जीवितै पाइयो !

विराटनगर: चिकित्सकलाई बिरामीले भगवानको रुप ठान्छन्। हुन पनि मृत्युको मुखमा पुगेका बिरामीलाई जीवन दिने काम चिकित्सकले नै गर्छन्। तर, चिकित्सकको सानो लापरबाहीले कस्ता घटना हुन्छन् भन्ने कारुणीक उदाहरण छ विराटनगरस्थित कोशी अस्पतालको। जहाँ चिकित्सकको टोलीले मृत घोषणा गरेको शिशु जीवित छ। त्यो पनि परिवारले अन्तिम दाहसंस्कार गर्न लिएर जाँदा पत्ता पाए। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना भएका १८ दिने शिशुलाई बुधबार अस्पतालको चिकित्सकीय टोलीले मृत घोषणा गर्‍यो। परिवारले चिकित्सकको कुरा पत्याएर अन्तिम संस्कारका लागि लगे। यसरी लैजाँदै गर्दा शिशु जीवितै भएको पाइएपछि फेरि उपचार गर्न अस्पताल फर्काइएको छ।

यी शिशुको अहिले विराटनगरकै गोल्डेन अस्पतालको एनआईसीयू कक्षमा उपचार भइरहेको छ। उपचाररत शिशुको अवस्था गम्भीर रहेको अस्पतालका व्यवस्थापक सुनिल बानियाँले अन्नपूर्णलाई बताए। उनले भने, ‘हामी बेस्ट ट्रिटमेन्ट दिने प्रयास गरिरहेका छौं। उनको स्वास्थ्य अवस्था स्थिर छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

के हो घटना ?

१८ दिने शिशु कटहरी गाउँपालिका-३ निवासी दिलीप मुखिया र उमा मुखियाकी छोरी हुन्। शिशुको नाम खुसी हो। १८ दिनअघि कोशी अस्पतालमै उमाले खुसीलाई जन्म दिएकी थिईन्।

उनको नर्मल डेलिभरी भएको थियो। ससुराली कटहरी भएपनि छोरीको जन्मपश्चात उनीहरू विराटनगर-८ स्थित मधुमारामा दाजुभाउजुसँगै बस्दै आएका थिए। मधुमारा उमाको माईत हो।

बुधबार बिहान खुसीले आमाको दुध खाईनन्। स्वास्थ्यमा पनि सामान्य समस्या देखियो। उपचार गरिहाल्नुपर्छ भन्ने दाइको सल्लाह बमोजिम श्रीमानलाई लिएर उमा बिहान करिब साढे ९ बजे कोशी अस्पताल पुगिन्। छोरीलाई अस्पतालको आकस्मिक कक्षमा लगिन्। डा. लक्ष्मण चौधरीले उपचार थाले। उपचार थालेको केही बेरमै डा. चौधरीले शिशुलाई मृत घोषणा गरिदिए।

सन्तान मृत्युको खबर सुनेपछि खुसीका बुबाआमा छाङ्गाबाट खसेझैं भए। भावविह्वल भएकी उमाले अन्नपूर्णसँग भनिन्, ‘भर्खरै पाएको सन्तान गुमाएको खबरले मेरो सर्वत्र खोसिएको महसुस भयो। मैले केही थाहा पाइन्।’

अस्पतालले मृत्यु घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर लगे। तर, खुसी जीवितै भेटिईन्। उनको श्वास चलिरहेको थियो। उनले हातका औँला पनि चलाईन्। यत्ति देखेपछि परिवार सदस्यले हतारहतार गोल्डेन हस्पिटल लगे। शिशुलाई अस्पताल भर्ना गरी देवर दिलीप मुखिया, दाइ मनोज मुखिया, माईजु जितनी मुखिया र दाजुको साथी सुभाष दाहाललाई लिएर उमा गुनासो गर्न अस्पताल पुगिन्।

प्रकाशित : बिहिबार, माघ ०५, २०७९०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वर्षमान पुनको कलेजोले राम्रोसँग काम गर्न सकेन, गर्नुपर्ने भयो प्रत्यारोपण !