टेलिकमका टेलिफोन अवरुद्ध, यस्तो रहेछ कारण !

काठमाडौं : नेपाल टेलिकमका टेलिफोन मंगलबार डेढ घण्टा पूरै अवरुद्ध भए। फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या दिनभरजसो नै सेवाग्राहीले भोग्नुपर्‍यो। बिलिङ प्रणालीको म्याद सकिएका कारण यस्ता समस्या आएको टेलिकम स्रोत बताउँछ। ती स्रोतका अनुसार यसले गर्दा विलिङ प्रणाली नै ‘कोल्याप्स’ हुन सक्ने संकेत गरेको छ। जसले टेलिकममा करोडौं घाटा भएको छ। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

टेलिकमका एक प्राविधिकले बिलिङ प्रणाली वा अन्य कुनै प्रणालीमा गडबडीले समस्या आएको हुन सक्ने बताए। उनका अनुसार यस विषयमा आन्तरिक रूपमा प्राविधिक जाँच भइरहेको छ। टेलिकमबाट अन्य कम्पनीका नेटवर्कमा फोन जाने–आउने भए पनि आन्तरिक फोनमा ठूलो समस्या देखिएको हो। मोबाइल नेटवर्क सिस्टममा समस्या आए पनि टेलिकमका पदाधिकारीले के हो भनेर कारण खुलाउन चाहेनन्।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेटवर्कमा समस्या देखिए पनि १५ मिनेटमा समाधान भएको दाबी गरे। मोबाइल प्रयोगकर्ताले भने दिनभर नै समस्या व्यहोरे। टेलिकममा मध्याह्न १२ बजेदेखि समस्या आएको थियो। बेलुकीसम्म पनि फोन नलाग्ने, नबुझिनेलगायत समस्या भोग्नुपरेको गुनासो प्रयोगकर्ताको थियो। प्रवक्ता अधिकारीले छिट्टै समस्या समाधान गरे पनि टेलिकममा ट्राफिक जाम भएका कारण दिनभरजसो समस्या देखिएको बताए।

टेलिकमको सिस्टममा समस्या रहेको उनी स्वीकार गर्छन्। ‘यो प्राविधिक गतिविधिमा कहिलेकाहीँ आउने समस्या हो’, उनले भने, ‘सिष्टममा समस्या छ, कहिलेकाहीँ त्यस्तो हुन्छ।’ समस्या आउँदा कलको संख्या धेरै बढेकाले मोबाइल नेटवर्कमा समस्या आएको प्रवक्ता अधिकारीले बताए। ‘प्राविधिक समस्यापछि कल लाग्न गाह्रो हुन्छ। एउटा सिष्टममा भएको हुन्छ, अर्कोमा आउँदा जाम हुन्छ’, उनले भने। कलको संख्या बढेकाले पौने २ बजेसम्म समस्या रहेको उनले बताए।

प्रकाशित : बुधबार, माघ ०४, २०७९०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिले देखि सुरु होला हिउँदे झरी ? यसो भन्छन् मौसमविद् !