कांग्रेससँग नजिकियो माओवादी, भित्र-भित्रै भयो गोप्य तयारी !

काठमाडौं । संसद्को ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ ।गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो ।सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

‘पहिले सभामुख विषयमा छलफल अघि बढाउँछौं र अन्य दलको धारणा बुझ्छौं, सभामुख चयनपछि राष्ट्रपतिका विषयमा पनि कांग्रेसले सत्ताधारी र सत्ताबाहिर रहेका दलसँग छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने ।

कांग्रेसले राष्ट्रपतिका लागि नेता कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलमध्ये एकलाई अघि सार्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने वातावरण कांग्रेसभित्र सिटौलाले नै बनाएको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले समेत शनिबार एक कार्यक्रममा राष्ट्रपति र सभामुख चयनबारे कांग्रेससँग पनि छलफल हुने भन्दै कांग्रेसलाई समेत समेटेर अघि बढ्ने संकेत गरिसकेका छन् ।

कांग्रेसले सभामुखका लागि भने अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एक जनालाई उम्मेदवार बनाउने’bout छलफल गरिरहेको छ ।

तर, कांग्रेस प्रवक्ता महतले भने पहिले अन्य दलसँग छलफलपछि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय हुने बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले समेत गत बिहीबार नै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संवादमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ८९ सिट जित्दै संसद्को पहिलो दल बनेको थियो । त्यसमध्ये कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

निर्वाचनका समयमा रहेको गठबन्धन भत्किएपछि कांग्रेस सत्ताको नेतृत्वबाट बाहिर पुगेको थियो । तथापि, कांग्रेसले १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिइसकेको छ । सोही कारण पनि सत्ता पक्षसँग कांग्रेस निकट रहेको र भित्रभित्रै संवाद भइरहेको बताइन्छ ।

प्रकाशित : आइतबार, माघ ०१, २०७९०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओलीलाई प्रचण्डको झड्का, कांग्रेसको ‘ढोक्सा’ मा पर्ने भयो माछा !