ओलीलाई प्रचण्डको झड्का, कांग्रेसको ‘ढोक्सा’ मा पर्ने भयो माछा !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत दिएर गुन लगाएको नेपाली कांग्रेसको ढोक्सामा माछा नै पारिदिने संकेत गरेका छन् । शनिबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रचण्डले त्यस्तो संकेत गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

गत २६ पुसमा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएपछि कांग्रेसलाई ब्यंग गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कांग्रेसले ढोक्सा थापेको हो भने त्यो ढोक्सामा केही पर्नेवाला छैन ।’ पानी वग्ने स–साना गौडामा माछा पार्ने उदेश्यले राखिने बाँसको चोयाले बनेको पासोलाई ‘ढोक्सा’ भनिन्छ । कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने ठोकुवा गरेका ओलीलाई शनिबार प्रचण्डले सम्पादकहरूसंग ओकेका कुराले झट्का लागेको हुन सक्छ ।

हुनत प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसंगकै सल्लाहमा ३ माघमा सर्वदलीय बैठक राखेको बताएका छन् । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दै गर्दा राष्ट्रपति एमालेलाई र प्रधानमन्त्री र सभामुख आलोपालोको सहमति भएको चर्चा चलेको थियो । तर, प्रचण्डले शनिबार कांग्रेससमेतको सहमतिमा राष्ट्रपति र सभामुख पद बाँडफाँड गर्ने बताएर ओलीलाई झट्का दिएका हुन् ।

कांग्रेससँग विश्वासको मत माग्न माओवादीका जनार्दन शर्मालगायतका नेताले सभामुख दिने वचन दिएको तर, कांग्रेसले नपत्याएको बजार हल्ला थियो । पछि प्रचण्ड आफै शेरबहादुर देउवाको निवास गएर गोप्य मन्त्रणा गरेपछि देउवाले तत्कालै पदाधिकारीको बैठक बोलाएर भोलिपल्ट २६ पुसको बिहानको संसदीय दलको बैठकबाट प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराएका थिए ।

शनिबार प्रचण्डले सम्पादकहरूसंग एमालेसंँग प्रमुख पदमा कुनै अग्रिम सहमति नभएको मात्र बताएका छैनन्, कांग्रेससमेतको सहमतिमा प्रमुख पद (सभामुख र राष्ट्रपति) सहमति खोजिने प्रष्ट पार्नुले ओलीले भनेजस्तो कांग्रेसले थापेको ढोक्सा त्तिो हुने होइन कि राष्ट्रपति र प्रधानमन्त्री मध्ये एक पर्ने लगभग निश्चितजस्तो देखिएको छ । आइतबार नै मन्त्रिपरिषदले पूर्णता पाउदैछ, त्यसो हुँदा कांग्रेस सरकारमा सहभागि नहुने लगभग पक्का छ । केही माओवादी नेताहरू भने सभामुख कांग्रेसलाई दिने बारे ओली र प्रचण्ड सहमत भएर नै ओलीकै सल्लाहमा प्रचण्डले ३ तीन माघका लागि सर्वदलीय बैठक बोलाउन लागेको आशंका गर्छन ।

तर एमालेका एक नेता अहिलेसम्म कांग्रेससँग राष्ट्रपति र सभामुख पद बाँड्ने सहमति एमाले र माओवादीबीच नभएको बताउँछन् । ‘कांग्रेसबाट पनि विश्वासको मत पाएकाले प्रधानमन्त्रीले शिष्टाचारका लागि कांग्रेससहितको राष्ट्रिय सहमतिको कुरा गर्नु अस्वाभाविक होइन,’ ती एमाले नेताले भने, ‘तर राष्ट्रपति वा सभामुख पद कांग्रेससँग भागबन्डा गर्ने भन्ने कुरा भएको छैन । कांग्रेस सरकारमा आउने पनि होइन ।’

प्रकाशित : आइतबार, माघ ०१, २०७९०८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चालीस हजार उठाउन पचास हजार खर्च