प्रचण्डलाई देउवाको समर्थनपछि ओलीलाई झड्का !

काठमाडौं । माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिनु अघिल्लो दिनसम्म उनले कति मत प्राप्त गर्ने हुन् भन्नेमा धेरैलाई अड्कल काट्न गाह्रो थियो । यसको एउटै कारण थियो – नेपाली कांग्रेस र एकीकृत समाजवादीको निर्णय । यी दुबै पार्टीले प्रधानमन्त्रीले विश्वासको मत लिने दिन मंगलबार निर्णय गर्ने घोषणा गरेका थिए । त्यसैले विश्वासकोे मतको पक्षमा र विपक्षमा कति मत पर्ला भन्ने अनुमान गर्न कठिन थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यी दुबै पार्टीले निर्णय नगरेसम्म धेरैले जारी सत्ता समीकरणमा कतै चमत्कार पो हुने हो कि भन्ने अनुमान पनि गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका नेकपा माओवादी लगायतका दलहरू बालुवाटार छोडेर बाल्कोटको बार्दलीमा पुग्ने बितिकै यु टर्न भएका थिए । केही समय अघिसम्म कांग्रेस सभापति देउवा ‘हाई हाई’ भएका उनीहरूका लागि पात्र परिवर्तन हँुदै त्यसको ठाउँमा ओली प्रवेश गरे ।

नेपाली राजनीतिमा धेरैले यसलाई लुँडो खेलसँगसमेत तुलना गरे । त्यो खेलमा जसरी सर्पको शीरमा पुगेको गोटी अचानक शून्यमा झर्छ त्यसैगरी कांग्रेस सभापति देउवा र उनका लागि शिखरमा पुगेको राजनीति एकाएक शून्यमा झर्यो ।

बाल्कोटको बार्दलीबाट भएको त्यो खेलमा मंगलबार विश्वासको मतमा देखिएको दृष्यले थप रोचक बनायो । त्यो रोचक पक्ष थियो– प्रधानमन्त्री प्रचण्डको विपक्षीमा मात्र दुई मत पर्यो । ०५१ सालपछि यति धेर मत पाउने दोस्रो प्रधानमन्त्री बने प्रचण्ड । ०५१ सालमा संसद्मा सबैभन्दा ठूलो दल बनेको एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीलाई संसद्मा भएका सबै दलले समर्थन गरेका थिए ।

जब विश्वासको मतको पक्षमा कांग्रेस देखियो तब त्यसको झट्का बाल्कोटमा पुग्यो । यो थाहा पाए लगतै एकछिनसम्म प्रचण्डमाथि भरोसा गरेका ओली झस्केका थिए । उनले यो खेलमा कतै कांगे्रसले बाल्कोटको बार्दलीमा भएको सहमतिमा धक्का दिने प्रयास गरेका हुन् कि भन्ने शंका प्रकट गरेका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावमाथि एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिले पनि अहिलेको यो खेलकुद सहज होइन भन्ने स्पष्ट हुन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले पानी नभएको खोलामा माछा मार्न जाल हालेको बताएका थिए । एमालेले मत दिँदा पानी भएको खोलामा माछा मारेको तर कांग्रेसले पानी नभएको खोलामा जाल हालेको भनाइको अर्थमा ओलीको गंभीर असन्तुष्टि छचल्किएको प्रस्ट देखिन्छ ।

नैतिक हिसाबमा अहिले प्रतिपक्ष बेन्चमा जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेक अरू कोही छैनन् । तर विश्वासको मत दिएर पनि कांग्रेसले आफूलाई प्रतिपक्ष बेन्चमा राख्नुको अर्थ हो अहिलेको समीकरण जहाँ जुनसुकै बेला पनि फेरबदल हुन सक्छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिनुको अर्थ

लामो समयपछि चुनावबाट सत्तामा पुग्न लागेको कांग्रेस समीकरणको खेलमा बुद्धि नपुर्याउदा सत्ता बाहिर हुनुपर्यो । यसपटकको चुनावमा कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन भएको थियो । यो चुनावमा यी पार्टीका नेता तथा कार्यकर्ता र समर्थकले एकअर्कालाई मतदान गरेका थिए । त्यसैले गठबन्धनको सरकार अनिवार्यजस्तै बन्यो । आफैँले गठबन्धन गरेर चुुनावमा गएका ती दलको एकआपसमा माया प्रिति हुनु स्वभाविक थियो ।

गठबन्धनको संस्कृतिअनुसार प्रचण्डको समीकरण बदल्ने निर्णय ठीक थिएन । त्यसैले उनलाई मतदान गर्नु कांग्रेसको नैतिक तथा राजनीतिक अनिवार्यता बन्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र कांग्रेसलाई सत्ता पक्ष र प्रतिपक्ष बेन्चमा राखिरहन प्रयास गरेका थिए । त्यसैले ओली चाहन्थे – कांग्रेसले सरकारलाई विश्वासको मत नहालोस् ।

कांग्रेस सभापति देउवा राजनीतिका अनुभवी खेलाडी मानिन्छन् । उनीसँग ०५२ सालदेखिको समीकरण फेरबदलको अभ्यासको अनुभव छ । त्यसैले सरकारलाई विश्वासको मत दिएर प्रचण्डतर्फ आफ्नो सदासयता देखाइरहन चाहन्थे । किनकि उनलाई थाहा थियो – विगतमा ओली–प्रचण्ड सम्बन्ध कसरी बिग्रेको थियो । त्यसैले अगाडिका दिनमा पनि उनी त्यो संभावना देखिरहेका छन् । त्यसैले ओलीको हातको सत्ताको बागडोर उनी आफूतर्फ ल्याउन सफल हुनेछन् । त्यसैले अहिले नै प्रचण्डलाई उनी टाढा बनाउन चाहँदैनथे ।

प्रकाशित : बिहिबार, पुष २८, २०७९०८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओलीलाई साइजमा राख्न प्रचण्डले लगाए तिकडम, सफल भयो योजना !