सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन्- समीक्षा अधिकारी

पछिल्लो दुई दिनमा गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेलाई लक्षित गर्दै दुई पोस्ट सार्वजनिक गरेकी छिन्। हिजो सार्वजनिक गरेको पोस्टमा गायिकाले आफूलाई गाली गर्नेहरु विरुद्ध कानुनको सहायता लिन सक्ने बताएकी थिइन्।

आज पनि सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोस्ट सार्वजनिक गरेकी छिन्। गायिका समीक्षाले सार्वजनिक गरेको पोस्ट यस प्रकार छ- ‘एउटा ‘ठुलै विद्वानले भनेका रहिछन् मान्छे तिन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरूको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात् घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरूको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।

सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन् र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?

हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दिदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।’

पछिल्लो समय गायिका समीक्षाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर-पोस्टहरु निकै भाइरल हुनुको साथै थुप्रै नकारात्मक कमेन्ट गरेका पाउन सकिन्छ ।

प्रकाशित : सोमबार, पुष २५, २०७९१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै समय पब्जी खेल्नुलाई क्रि:यटिभ नदेख्ने अभिनेत्री अहिले बधाई दिँदै !