विश्वासको मत फकाउन प्रचण्डको नयाँ ‘तिकडम’ !

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको छ । संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् । प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उहाँले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहनुभएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

‘पार्टी एकता जादुको छडीजस्तो छिनमै हुने कुरा हैन,’ उनले नेपाल समाचारपत्रसँग भने– ‘वाम एकताको प्रस्ताव सकारात्मक हो, हामीले पनि प्रयास गरेकै छौं । तर, आजै भोलि नै एकता गर्ने भन्ने असम्भव कुरा हो । उहाँले विश्वासको मत फकाउनका लागि फाल्नुभएको एजेन्डाका रूपमा हामीले हेरेका छौं ।’

सरकारमा सहभागी दलहरूबाटै विश्वासको संकट देखेपछि दाहालले सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूलाई विभिन्न आश्वासन देखाएर संसद्बाट विश्वासको मत फुत्काउने प्रयास गरिरहनुभएको छ । प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गर्नुभएको छ ।

शुरूमा कांग्रेससँग गठबन्धन तोड्नैपर्ने स्थिति आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । तर, प्रचण्ड प्रधानमन्त्री भएपछि यी दुई नेताका बीचको यो तेस्रो भेटघाट भएको नेताहरूले बताएका छन् ।

नेपालले प्रधानमन्त्रीसँग पहिलोपटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा र दोस्रोपटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा नेपाल–दाहालबीच तेस्रो भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गर्नुभएको माधव नेपालको सचिवालयले जनाएको छ । दाहालले आइतबार शुरूमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेट गर्नुभएको हो । विश्वासको मत लिनेबारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित : सोमबार, पुष २५, २०७९०७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डलाई देउवाको समर्थनपछि ओलीलाई झड्का !