काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने माग सरकारसंग गरेको छ । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन ।
राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ। गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ । राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो ।
पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।