गठबन्धन टुटे चकनाचुर हुनेछ रामचन्द्र पौडेलको सपना, त्यसैले बढाए सक्रियता !

काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि आफ्ना ३२ सांसदहरूको हस्ताक्षर लिइसक्नुभएको छ ।

गठबन्धनलाई पाँच वर्ष लैजाने उद्घोषका साथ चुनावमा गएका दलहरूबीच शक्ति बाँडफाँटको विषयलाई लिएर आपसी मतभेद शुरू भएको छ । नयाँ सरकारको नेतृत्व पहिलोपटक कसले गर्ने भन्ने विषयम देउवा र दाहालबीच दाबी कायमै छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

सरकारको नेतृत्व गर्ने विषयमा दलहरूबीच छलफल चलिरहँदा कांग्रेसले सभामुख माओवादीलाई दिएर आफूले राष्ट्रपति र प्रधानमन्त्री पद लिएर गबन्धनकै सहमतिमा सरकार गठन गर्न पहल गरिरहेको छ । तर, माओवादीलाई नेकपा (एमाले)ले गठबन्धन तोडेर आए प्रधानमन्त्री बनाउने आश्वासन दिएसँगै प्रचण्डले शुक्रबारेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोट र प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा सघन छलफल चलाइरहनुभएको छ ।

कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद रामहरि खतिवाडाले कांग्रेस ठूलो दल भएकाले राष्ट्रपति र प्रधानमन्त्री पद लिएर सरकारको नेतृत्व गर्न सबैसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माओवादीले विगतमा गठबन्धन गर्दा राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेलाई छाडेर सभामुख लिएको थियो । अहिले पनि गठबन्धन छ । हामी पहिलो पार्टी हौँ । नजिर पनि त्यही छ । त्यसैले प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले लिएर माओवादीलाई सभामुख दिन्छौँ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो कार्यकालमै आफू प्रधानमन्त्री हुने र साढे २ वर्षपछि प्रचण्डलाई छाड्ने मनस्थितिमा हुनुहुन्छ ।सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्री पद नछाड्ने संकेत देखेपछि एमाले त्यसैलाई हतियार बनाएर गठबन्धन भत्काउने रणनीतिमा छ । एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई गठबन्धन तोडेर आए प्रधानमन्त्रीमा सहयोग गर्ने वचन दिएको थियो । ओलीको उक्त वचनलाई आधार बनाएर पछिल्लो समयमा प्रचण्डमा प्रधानमन्त्रीको मोह तीव्र देखिएको नेपाली कांग्रेसका एक नेताले बताए ।

ठूलो पार्टीका हिसाबले प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने उनको भनाइ छ । तर, प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसलाई दिन नसकिने माओवादीले अडान राखेको छ । शक्ति बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धनभित्र देखिएको ध्रुवीकरणलाई शान्त पार्न र गठबन्धन जोगाएर सरकार निर्माणका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत दौडधुपमा हुनुहुन्छ ।

उहाँले शनिबार नै माओवादी अध्यक्ष दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर छलफल गर्नुभएको पौडेलको सचिवालयले जनाएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाउनुभएको हो ।

शनिबार बिहान प्रचण्ड र नेपालसँग भएको एक घण्टा लामो छलफलमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको पौडेलनिकट स्रोतको भनाइ छ । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिने माओवादीलाई सभामुख र उपराष्ट्रपति, नेकपा एकीकृत समाजवादीलाई उपसभामुखसहित गठबन्धनमा सहभागी दलहरूलाई सत्ताका विभिन्न पदहरू वितरण गरेर जाने अभ्यासमा रहेको कांग्रेसलाई प्रचण्डले सहजरूपमा प्रधानमन्त्री छाड्ने पक्षमा देखिँदैन । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेको छ ।

प्रकाशित : आइतबार, पुष १०, २०७९०८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विघटनको डिलमा गठबन्धन, आजै फुटेर हुन सक्छ दुई टुक्रा !