काठमाडौँ — नयाँ सरकारमा प्रधानमन्त्री को ? कांग्रेस सभापति शेरबहादुर देउवा कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ? सहमति बनाउन नसक्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवा र दाहाल आ–आफ्नो अडानबाट पछि हटेनन् । अपराह्न ४ बजे बैठक बोलाइए पनि त्यसअघि नै एकअर्कालाई दबाबमा राख्न दुवै पक्षबाट सन्देश र संकेत आदानप्रदान भइरहे । दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन भनेर कांग्रेस सांसदहरूलाई सूचना गरिएको थियो । सांसद चन्दा चौधरीले सांसदहरूलाई फोन गरी बालुवाटार आउन निम्तो दिएकी थिइन् ।
प्रधानमन्त्री देउवा कार्यक्रममा उपस्थिति मात्र जनाएर सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीमा सहभागी हुन बाडेगाउँ गएका थिए । ‘प्रधानमन्त्री आफैंले भन्दा पनि आरजु (राणा) म्याडमले बोलाउनुभएको रहेछ । त्यसैले धेरै सांसद जम्मा हुनुभएन,’ एक सहभागीले भने, ‘आरजु म्याडमले सरकारको नेतृत्व कांग्रेसले छाड्न हुन्न, ३२ सिट ल्याएको माओवादीलाई कसरी प्रधानमन्त्री दिन सकिन्छ भनेर तपाईंहरू पनि बोल्नुपर्यो भन्ने निर्देशन दिनुभयो ।’
अपराह्न ४ बजेको गठबन्धन बैठकमा दाहाल पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर गएका थिए । आफ्नोतर्फबाट उदार हुन नसक्ने मुद्दामा उनी गुरुङजस्तै नेताहरूलाई अघि सार्ने गर्छन् ।
पार्टीभित्रको दबाबका कारण पनि आफूले यसपालि सरकारको नेतृत्व छाड्न नसक्ने दाहालको दाबी थियो । उता देउवाले पनि पार्टी पंक्तिलाई नै देखाएर पहिलो पालो आफूलाई दिन आग्रह दोहोर्याएका थिए । ‘ठूलो दलले सरकारको नेतृत्व छाड्न हुन्न भन्ने पार्टीभित्र दबाब छ । छाड्दा पार्टीमा समस्या हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘प्रचण्डजीको बोली पनि त्यस्तै थियो । आफूहरूको सहयोगमा डेढ वर्ष कांग्रेसले सरकार चलाइसकेको अवस्थामा यस पटक माओवादीले नेतृत्व नपाए गठबन्धनमा बस्न पार्टीभित्र समस्या हुन्छ भन्ने उहाँको भनाइ थियो ।’
पाण्डेका अनुसार समझदारीका लागि कोसिस भइरहे पनि प्रस्ट संकेत देखिएको छैन । ‘विवाद भनेको देउवा र दाहालबीच को पहिला प्रधानमन्त्री हुने भन्ने मात्रै हो,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसको अडान यथावत् छ, कांग्रेसले राष्ट्रपति लिनैपर्ने हो भने प्रधानमन्त्री छाड्नुपर्छ । दुवै मुख्य पद एउटै पार्टीले लिएर कसरी गठबन्धन कायम हुन्छ ?’
नेताहरू टसमस नभएपछि आइतबार बिहान १० बजे बैठक बोलाइएको छ । गठबन्धनको प्रधानमन्त्रीमा दाबी लिएर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको सीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । दुवै नेताका अडान हेर्दा तत्काल सहमति हुने सम्भावना निकै कम छ ।