काठमाडौं । संसद् सचिवालयले १६औँ संसद् सेवा दिवस मनाइरहेको छ । संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलवार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीहरुले बुधवार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाएका छन् । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले आपत्ति जनाए ।
उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए । उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ? भन्दै प्रश्नसमेत गरेका थिए । उनले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै प्रश्न गरेका थिए । उनले संघीय संसद्मा काम गर्ने कर्मचारीले भन्सारको डीजी हुन चाहेको भाषण गरेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताए ।