प्रचण्डलाई प्रधानमन्त्री बनाउ ओली तयार, पठाए सन्देश !

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन्। वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। ‘गठबन्धन छाड्न गाह्रो देखिएको छ। गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो। त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो। तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने।

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ। एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो। ‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन्। उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून्। सबै विकल्पमा खुला छलफल हुन्छ,’ एमालेका ती पदाधिकारीले भने।

पछिल्लोपटक कांग्रेसभित्र देखिएको शक्ति ध्रुवीकरण र गैरवामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको आकलन सो दलका नेताहरूको छ। ‘रात गयो बुद्धि पलायो भनेजस्तो भएको छ। माओवादी अनौपचारिक ढंगले संवादमा आए पनि विश्वासिलो वातावरण बनेको छैन। गठबन्धन छाडेर नआएसम्म विश्वासिलो आधार बन्दैन पनि,’ एमाले स्रोतले भन्यो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य ठान्छन्। ‘नेताहरूबीच शुभकामना आदानप्रदान हुनुलाई सामान्य रूपमा लिनुपर्छ। भेटघाटले सम्बन्धलाई सुमधुर बनाउँछ। नेताहरूले भेटघाट गर्दैमा सरकार बनाउने, गठबन्धन टुटाउने भन्नेजस्ता विषयमा कुराकानी भएको भनेर व्याख्या गर्न मिल्दैन। यसलाई ठुलो कुरा मान्नु पनि हुन्न। दलका नेताहरूबीच भेटघाट हुँदा राजनीतिक विषयमै कुराकानी हुन्छ भनेर सोच्नुपर्छ,’ रिजालले भने।

प्रकाशित : बिहिबार, मङि्सर २९, २०७९०८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हाजिर नै नगरी तलब पचाएपछि …