महोत्तरी, महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा. पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गरेका थिए । श्रीमतीले उनीविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिएकी थिइन् ।
महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले थुनुवामा रहेका डा. पङ्कजविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा चलाउने तयारी भइरहेको बताए। काठमाडौँको ग्रान्डी अस्पतालमा जनरल फिजिसियनको रूपमा कार्यरत डा. पङ्कजले दाइजोमा काठमाडौँमा घर माग गर्दै श्रीमती नेहालाई पटकपटक कुटपिट गरेर घर निकाला गरेका थिए ।
मङ्गलबार दिउँसो डा. पङ्कजको घरमा बस्न श्रीमती नेहा चौधरी पुगे पनि पति, ससुरा र सासूले उनलाई भित्र प्रवेश नदिएपछि नेहा त्यहीँ धर्नामा बसेकी थिइन्। नेहाको धर्नापछि प्रहरीले डा. पङ्कजलाई पक्राउ गरेको जनाइएको छ।