अभागी निस्किए यी पार्टी, थ्रेस होल्ड कटाएर पनि पाएनन् सिट !

काठमाडौं । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुन्छन् । तर गण्डकी र कर्णालीसहितका प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि कतिपय दलहरुले कुनै सिट पाएनन् ।गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् । गण्डकीमा समानुपातिकतर्फ २४ सिट छ । र, ९ लाख ४२ हजार ७९८ मत सदर भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

आयोगका अनुसार ७ दलले थ्रेसहोल्ड कटाएका थिए । तर सेन्टलग विधिबाट सिट निर्धारण गर्दा तीन दलले सिट पाएनन् । हाम्रो नेपाली पार्टीले त झण्डै २ प्रतिशत मत पाएको थियो । एकीकृत समाजवादीले १.६० र राष्ट्रिय जनमोर्चाले १.५८ प्रतिशत मत पाएको थियो । तर तीन वटै दलले सिट पाएनन् ।

कर्णाली प्रदेशमा पनि त्यस्तै भएको देखिन्छ । कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पािन समानूपातिक सिट पाउन सकेन । ४० सदस्यीय प्रदेशसभामा १६ सिट समानूपातिकतर्फ छ र ५ लाख ६२ हजार ३४० मत सदर भएको थियो ।

नेपाल मजदुर किसान पार्टीले करिव ९ हजार मत पायो, जुन कुल सदर मतको करिव १.६ प्रतिशत हो ।निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सेन्ट लग विधिबाट समानूपातिकको सिट निर्धारण गर्दा थ्रेसहोल्ड कटेपनि कतिपय दलहरुले सिट नपाएका हुन् ।

‘संघीय तहमा ११० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३÷४ सिट पाउने अवस्था रहन्छ’ उनले भने, ‘कतिपय प्रदेशमा सिट थोरै छ । १.५ प्रतिशत थ्रेसहोल्ड कटेपछि एक सिट पनि पाउन नसक्ने अवस्था हुन्छ ।’

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९०८:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देउवालाई भित्रैबाट डर !