काठमाडौं । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने ?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय ७ सांसद छन् । सरकार गठनका लागि ५४ सिट आवश्यक भए पनि कुनै पनि गठबन्धनसँग बहुमत छैन । सोही कारण उनीहरू जनमत र स्वतन्त्र सांसदलाई आफ्नो समूहमा ल्याउन कसरत गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनसँग ४० सिट छ । अर्को नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को गठबन्धन थियो । जनमत पार्टी कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लडेको थियो । यो गठबन्धनसँग ४६ सिट छ ।
सत्तारूढ गठबन्धनको ४६ र प्रतिपक्षी गठबन्धनको ४० सिटमात्रै छ । प्रतिपक्षी गठबन्धनले जनमत पार्टीका साथै स्वतन्त्र सांसद वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई आफ्नो समूहमा मिलाए सरकार बन्न सक्छ ।
उता, सत्तारूढ गठबन्धनले जनमत पार्टीलाई मात्रै मिलाउन सक्यो भने सरकार बन्न बहुमत पुग्छ । सत्तारूढ गठबन्धनले स्वतन्त्र वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई नल्याउँदासमेत उसको सरकार बन्न बहुमत पुग्छ ।
कुन दलका कति सांसद ?
मधेस प्रदेशमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र जनमत पार्टी तेस्रो दल बनेका छन् । यहाँ यसतर्फ १० दलको प्रतिनिधित्व हुने भएको छ ।
कांग्रेस, एमाले, जसपा, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको प्रतिनिधित्व हुनेछन् ।
१ सय ७ सदस्यीय प्रदेशसभामा एमालेले २३ सिट जितेको छ । एसको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ सिट छ । कांग्रेस प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ सहित २२ सिटसाथ दोस्रो स्थानमा छ । जसपाको प्रत्यक्ष ९ र समानुपातिकतर्फ ७ गरी १६ सिट छ । लोसपाले प्रत्यक्ष ७ र समानुपातिकमा २ पाउँदा ९ सिट भएको छ ।
जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ७ सहित १३ सिट पाएको छ । प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको प्रत्यक्षमा ४ र समानुपातिका ३ गरी ७ सिट छ ।
प्रत्यक्षमा १ सिट पनि जित्न नसकेको नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समानुपातिकतर्फ १÷१ सिट पाएका छन् । प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।