काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नराम्रो हार बेहोरेपछि नेकपा एकीकृत समाजवादी, गुल्मीमा पहिरो गएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गुल्मीबाट पार्टीका उम्मेदवार सबैले हार बेहोरेपछि समाजवादी पार्टीका अध्यक्षले नै राजीनामा दिएका छन्।
नेकपा एकीकृत समाजवादी, गुल्मीका अध्यक्ष श्रीराम महतले बुधबार राजीनामा दिएका छन्। बुधबार मात्रै गुल्मी क्षेत्र नम्बर २ बाट पार्टी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।
झाँक्री पराजित भए लगतै महतले सामाजिक संजाल मार्फत राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्,”गुल्मी-२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु।”
गुल्मी २ मा गोकर्ण विजयी, १ मा प्रदीप ज्ञवालीको अग्रता
गुल्मी २ को प्रतिनिधिसभा सदस्यमा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन् ।
विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् । झाँक्रीले २६४४२ मत पाएकी छन् । यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।