काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै आयोगको जिल्ला कार्यालय चितवनमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो। सोहीबमोजिम एक साताको समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। उनले भने, ‘तपार्इंविरुद्ध आयोगमा उजुरी परेको छ। के तपाईंलाई लागेको आरोप सत्य हो ? यदि सत्य हो भने तपाईंको उम्मेदवारी आयोगले खारेज किन गर्नुनपर्ने ? स्पष्ट प्रमाणसहित एक साताभित्र स्पष्टीकरण पेस गर्नुहोला भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौं।’
उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग राखेर राजकुमार पाण्डेले मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरणपत्र बुझाइएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। एक साताभित्र आयोगमा परेको उजुरीबारे प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनिएको उनले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट पार्टीका जिल्ला सचिव कृष्णप्रसाद भुसालमार्फत लामिछानेले फोटोकपीसहित उजुरीपत्र बुझेको जनाइएको छ।
लामिछानेबाट स्पष्टीकरण प्राप्त भएपछि निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौंमा पठाइने आचार्यले बताए। आयोगले निर्णय नगर्दासम्म लामिछानेको उम्मेदवारी यथावत् रहने उनले जानकारी दिए। ‘आयोगले नै सात दिनको म्याद दिएको छ। उजुरी पर्नेबित्तिकै उम्मेदवारी रद्द हुँदैन,’ उनले भने, ‘अहिलेसम्म उहाँ निर्वाचन लड्न पाउनुहुन्छ।’ निर्वाचनपछि आयोगले उम्मेदवारी खारेज गर्न पनि सक्ने उनले बताए। निर्वाचन हुन चार दिन बाँकी रहेकाले रविले निर्वाचनपछि पनि स्पष्टीकरण दिन सक्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकतासम्बन्धी विवाद चार वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन्। आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन्। ‘उजुरी पर्नु ठुलो कुरा होइन। निर्वाचन आयोगमा जवाफ मैले दिनुपर्छ। दिन्छु,’ उनले भने। चार वर्षअघि प्रेस काउन्सिलमा उजुरी परेपछि सन् २०१८ मा स्पष्टीकरण बुझाएको पनि उनले बताए।