जो नेपालको नागरिक रहेको प्रमाणित गर्न मात्रै भोट खसाल्छन् …

काठमाडौँ-  चुनावी रौनकले गाउँसहर उत्साहित भएका बेला सिरहा भगवानपुर–२ पासवान टोलका सुकुमबासी बिन्देश्वर पासवानको मुहारमा कुनै उत्साह देखिँदैन। उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।

सिरहा १ मा पर्ने भगवानपुरका बिन्देश्वरको भोटले २०४८ देखि २०७४ सम्म कैयन् नेता सांसद र मन्त्री भए। उनीहरूको जीवनशैली फेरियो, हैसियत फेरियो अनि पहिचान फेरियो। तर बिन्देश्वरको दुःख ज्यूँका त्यूँ छ। उनी त्यतिबेला पनि सुकुमबासी थिए, अहिले पनि छन्। बनिबुतो गरेर परिवार धान्दै आएका बिन्देश्वरका दुई छोरा र दुई छोरी छन्। एक छोरी र दुई छोराको विवाह भइसकेको छ। कान्छी छोरीको विवाह हुन बाँकी छ।

तीन वर्षअघि नाति प्रताप पासवानलाई घरअगाडिको सडकमा गाडीले ठक्कर दियो। उनको दाहिने खुट्टामा चोट लागेपछि लहान अस्पतालमा उपचार सम्भव भएन। चिकित्सकले विराटनगर सिफारिस गरिदिए। विराटनगरमा उपचार गराउँदा एक महिनामा २ लाख ऋण लाग्यो। सुकुमबासी उनलाई यति धेरै रकम कुनै साहुले पत्याएनन्। ‘चार–पाँचजनासँग मागेर त्यति रकम जुटाई अस्पतालाई बुझाएर नातिलाई घर ल्याएँ,’ उनी भन्छन्, ‘पैसा पनि गयो नातिको खुट्टा पनि निको भएन, सुक्दै गयो।’ चिकित्सकले फेरि अप्रेसन गर्नुपर्ने भन्दै थप २÷३ लाख रकम जोहो गर्न भनेपछि बिन्देश्वरको आँट पुगेन। कारण, पहिलाकै २ लाख ऋणले थिचिएका उनीसँग थप ऋण लिने सामथ्र्य थिएन। सहयोगका लागि सांसददेखि गाउँका मुखिया सबैलाई गुहार्दा पनि कतैबाट कुनै सहयोग नभएको उनले बताए।

‘नातिलाई देख्दा मन विचलित हुन्छ,’ घरनजिकै खेतमा भैंसी चराउँदै गरेका बिन्देश्वरका आँखा आँसुले भरिए। आफूलाई नेताहरूमाथि कुनै भरोसा नरहेको उनले बताए। ‘चुनावका बेला संसारै नाम गरिदिन्छु भन्छन् तर दुःख पर्दा फर्केर हेर्दैनन्,’ गम्छाले आँसु पुछ्दै उनले भने, ‘नेताले केही गरिदेलान् भन्ने आशामा भोट हाल्न छाडिसके। यसपालि नागरिकताको लाज राख्न, नागरिक भइराख्न भोट खसाल्छु।’

छोरीको पनि विवाह गर्ने बेला भइसक्यो। समाजमा कुरा काट्नेहरू दिनदिनै बढ्दैछन्। जतिजति दिन बित्दैछन्, बिन्देश्वरको छोरी विवाह गर्ने चिन्ता पनि बढ्दैछ। तर उनी विवश छन्। ‘हामी गरिबको जिन्दगी ऋणमै सकिन्छ,’ उनले भने, ‘नातिको उपचार पनि साहुसँग कर्जा बोकेरै गरें। अझै ब्याज तिर्न बाँकी छ।’

छोरीको बिहे गर्ने बेला भइसक्यो। बिहेमा लाग्ने खर्चका लागि ऋण मात्र विकल्प छ। पहिलाकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने भन्दै उनी चिन्तित छन्। ‘हाम्रो समुदायमा पनि अब दहेज (दाइजो) माग्न थालियो,’ बिन्देश्वर भन्छन्, ‘कहाँबाट ल्याउनु दहेज दिन पैसा ?’ विवाहमा कम्तीमा पनि १÷२ लाख खर्च हुने भन्दै उनले थपे, ‘हजार पनि नभएको मान्छेले लाख कहाँबाट ल्याउने ? मजदुरी गरेर आर्जन गरेको १० धुर घडेरी पनि गत साल बेच्नुप¥यो। ऐलानी जमिनमा घामपानीबाट ओत लाग्ने छाप्रो बाँकी छ।’

प्रकाशित : बिहिबार, मङि्सर ०१, २०७९०८:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भूकम्पपीडित टनेलभित्र: शीत चुहिएर सुत्केरी, वृद्धवृद्धा र बालबालिका समस्यामा