काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूबीच झडपको स्थिति सिर्जना भएको छ ।
विगतमा पटकपटक प्रधानमन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका पाका नेताहरूको नेतृत्वमा रहेका ठूला दलहरूले नै आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दा कार्यकर्ताहरू भौतिक आक्रमणमा उत्रन थालेका हुन् । आइतबार मात्रै देशका विभिन्न भागमा यस्ता तीन वटा अप्रिय घटना भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी मुग्लिन नजिकै तोडफोड भयो । तोडफोड गठबन्धनकै कार्यकर्ताले गरेको आरोप लामिछानेले लगाएका छन् । इच्छाकामना गाउँपालिकाको कुरिनटारनजिक डालिमा रिसोर्ट अगाडि बा १४ च ७६८४ नम्बरको टाटा सुमो जिप तोडफोड भएको हो ।
तोडफोडको भिडियो क्लिप पनि सार्वजनिक भएको छ । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व बोकेको राज्य नै मूकदर्शक भएको आरोप पनि लगाएका छन् । लमिछानेले मिडियासँगको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा यो नांगो हस्तक्षेप हो ।
म असुरक्षित भए पनि मेरा कार्यकर्ता सुरक्षित रहनुपर्छ । आफ्नै आँखै अगाडि गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गर्दासमेत प्रहरी मूकदर्शक बने । दोषीलाई कारबाही होस् ।’
यसैगरी आइतबार नै सुदूरपश्चिम प्रदेशस्थित दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताहरूको आक्रमणबाट नेकपा माओवादी केन्द्रको काठमाडौं–दार्चुला समन्वय समितिका अध्यक्ष जयभानसिंह धामी गम्भीर घाइते भए ।
‘चुनावमा मत माग्न पुगेका कार्यकर्तालाई दलहरूले दिने सुविधा (खाना, मदिरा, दैनिक भत्ता) ले नै झडपको अवस्था सिर्जना हुने गरेको देखिन्छ । अनुगमन गर्दा स्वेच्छाले कार्यकर्ताहरू चुनावी प्रचारमा गएको देखिन्छ तर, खर्च दलबाटै हुने गरेको पाइन्छ ।’
उनको उपचार ललितपुरको ‘बी एन्ड बी’ अस्पतालमा भइरहेको छ । दार्चुलाको नौगाड गाउँपालिका–६ खेडमा एमाले कार्यकर्ताले आइतबार दिउँसो धामीलाई घेरा हालेर कुटपिट गरेको बताइएको छ । आक्रमणको विरोधमा सोमबार सत्ता गठबन्धनका कार्यकर्ताहरूले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।
मार्मा गाउँपालिकामा चुनाव प्रचार ¥याली सकेर नौगाडको कार्यक्रममा सहभागी हुँदै गर्दा एमाले कार्यकर्ताहरूले धामीमाथि आक्रमण गरेका थिए । एमालेले भने आफूहरू चुनावीसभामा जानेक्रममा गठबन्धनका कार्यकर्ताले अवरोध गरेपछि झडपको अवस्था आएको बताएको छ ।
अर्को अप्रिय घटना आइतबार राती गोरखाको पालुङटारमा भएको छ । पालुङटारमा भने एमाले कार्यकताबीच नै कुटाकुट भएको हो । च्याङलीको म्यागों रिर्सोटमा एमालेकै कार्यकर्ताबीच भएको झगडामा एमाले नेता हरि काफ्लेसहित दुई जना घाइते भएका छन् ।
खाना खाइरहेको बेला विवाद हुँदा काफ्लेमाथि आक्रमण भएको थियो । एमाले गण्डकी प्रदेश समिति सदस्यसमेत रहेका काफ्लेलाई टाउकोमा चोट लागेको छ । एमालेकै कार्यकर्ताहरूबीच खाना खाने क्रममा आपसी विवादमा कुटपिट भएका हो ।
घटनामा एमालेकै संलग्न भएको पुष्टी भएको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरू दुवै युवा संघका सदस्य रहेको प्रहरीले जनाएको छ । चुनावको मुखमा भएका यी तीन घटनाले ठुला दलहरूले अझै पनि लोकतान्त्रिक अभ्यास स्वीकार नगरेको प्रष्ट हुन्छ ।