‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका क्षेत्रका उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री र मन्त्री नै बनाइदिन्छौं’ भन्दै जनतामा भ्रम छर्न थालेपछि सत्तारूढ दलका नेता आलोचित बन्न थालेका छन् ।

सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार तनहुँमा आयोजित कार्यक्रममा ‘तनहुँ क्षेत्र १ उम्मेदवार तथा कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर पठाएको खण्डमा प्रधानमन्त्री बनाउन सकिने’ भन्दै मतदातालाई मनोवैज्ञानिक दबाब दिएका छन् ।

यद्यपि, सत्तारूढ कांग्रेसभित्र प्रधानमन्त्रीका लागि यसअघि नै चार जनाले दाबी पेस गरिसकेका छन् भने कांग्रेस प्रवक्ता डा. रामशरण महतले पटकपटक विज्ञप्ति जारी गर्दै गठबन्धनले चुनाव जितेमा पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन् ।

पौडेललाई प्रधानमन्त्री बनाउन सकिने बताएका माओवादी अध्यक्ष प्रचण्ड आफंै पनि चुनावमा गठबन्धनले जितेमा प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताउँदै आएका छन् ।

यसअघि काठमाडौं क्षेत्र २ मा आयोजित चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले ‘गठबन्धनका उम्मेदवारलाई जिताएमा मन्त्री बनाइने’ भन्दै मत मागेका थिए ।

त्यस्तै, गठबन्धनले दार्चुला, चितवनलगायत जिल्लामा आयोजना गरेको चुनावी सभामा देउवा र प्रचण्डले ती आफ्ना उम्मेदवारलाई जिताएमा ‘मन्त्री बनाइने’ भन्दै आश्वासन दिएका थिए । प्रचण्ड र देउवाले यो क्रम जारी राख्दै आएका छन् ।

राजनीतिक विश्लेषक भने जनताले दलका एजेन्डालाई विश्वास गर्न छोडेपछि आफ्ना उम्मेदवार जिताउन प्रधानमन्त्री र मन्त्रीको फण्डा फाल्ने गरेको भन्दै ‘सो कार्य लोकतन्त्रका लागि घातक भएको’ बताउँछन् ।

राजीतिक विश्लेषण प्राध्यापक डा. लोकराज बरालले चुनावका बेला नेताले जित्नकै लागि विभिन्न हत्कण्डा अपनाउने गरेको र त्यसैको विकृत रूपमा प्रधानमन्त्री र मन्त्री पद बाँड्न थालिएको बताए ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरु भयो आक्रमणको राजनीति