जनकपुर, राजविराज र काठमाडौं — मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको चुनावी अभियानमा समेत निस्कन भ्याएका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।
संविधान जारी हुँदाको असन्तुष्टिकै रापतापमा ०७४ मा भएको निर्वाचनमा यादवले सप्तरी–२ र ठाकुरले महोत्तरी–३ बाट फराकिलो मतान्तरले जितेका थिए । त्यतिबेला यादव नेतृत्वको संघीय समाजवादी फोरम र ठाकुर नेतृत्वको राजपा मिलेर चुनाव लडेका थिए भने यी दुवै नेतालाई कांग्रेसको साथ थियो । यी दुई नेता अहिले पनि पुरानै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । यसपटक यादवलाई एमालेको साथ छ, ठाकुरलाई सत्ता गठबन्धनको ।
ठाकुर र यादव दुवैले आ–आफ्नो क्षेत्रमा मतदाताको चर्को गुनासो सुन्नुपरेको छ । मतदाता फकाउन यी दुवै नेता संघर्षरत छन् । मतदाता रिझाउनकै लागि ठाकुरले लोसपाको घोषणापत्र गत साता आफ्नै क्षेत्र जलेश्वरमा सार्वजनिक गरेका थिए । ‘क्षेत्रमा उहाँको माग बढी रहेकाले घोषणापत्र जलेश्वरमै सार्वजनिक गर्नुपर्यो,’ ठाकुरका स्वकीय सचिव प्रदीप पाठकले भने, ‘घोषणापत्र सार्वजनिक गरेलगत्तै हामी फेरि घरदैलोमै व्यस्त भयौं ।’
जसपा अध्यक्ष यादव पनि गत साता पार्टीको घोषणापत्र सार्वजनिक गर्न एक दिन काठमाडौं बसेर सप्तरी फर्किए । मधेसकेन्द्रित दुवै दलका मुख्य नेताहरू आफ्नो क्षेत्रमा रूमल्लिँदा अन्य क्षेत्रका उम्मेदवार आफ्नै बलबुतामा प्रचारमा जुट्न बाध्य छन् । शीर्ष नेता नै ‘डेन्जर जोन’ मा रहेकाले अन्य उम्मेदवारले आफ्ना क्षेत्रमा चुनावी कार्यक्रमका लागि यादव र ठाकुरलाई आग्रह गरेका पनि छैनन् ।
यादव र ठाकुरजस्तै दबाबमा छन्, लोसपाका अर्का नेता राजेन्द्र महतो र उनका प्रतिस्पर्धी महिन्द्र राय यादव । दुवै नेताको मुद्दा मिले पनि चुनावमा मन मिलेको छैन । सर्लाही–२ बाट लडेका महतो र राय मतदाता रिझाउन व्यस्त छन् । ‘उम्मेदवार भएकाले आफ्नो क्षेत्रमा बढी समय दिनु स्वाभाविक हो,’ जसपा प्रवक्ता मनीष सुमनले कान्तिपुरसँग भने, ‘चुनाव प्रचार नै ढिलो सुरु भयो, अब बिस्तारै अध्यक्षज्यूले अन्य क्षेत्रमा पनि समय दिनु हुनेछ ।’
लोसपा नेता केशव झाका अनुसार सबैजसो उम्मेदवार आ–आफ्नै क्षेत्रमा व्यस्त रहेको बताए । ‘सबै क्षेत्रमा टफ कम्पिटिसन छ, उम्मेदवारहरू आ–आफ्नै क्षेत्रमा मिहिनेत गरिरहनुभएको छ,’ झाले भने, ‘नेताहरूलाई आफ्नै क्षेत्रमा लाग्न भनिएको छ । क्याम्पेनिङको कुनै अलग–अलग कार्यक्रम छैन ।’ मधेसमा लोसपाले राम्रो सिट जित्ने उनको दाबी छ । ‘सर्लाही, महोत्तरी र धनुषामा लोसपाका उम्मेदवार मजबुत स्थितिमा छन्,’ उनले भने, ‘सप्तरी र बारामा टफ कम्पिटिसन छ ।’
