एजेन्सी : ‘कान्तारा’ भन्दा पहिले कन्नड फिल्म उद्योग बाहिरका मानिसहरूलाई ऋषभ शेट्टीको नाम थाहा थिएन तर अहिले संसारभर उनको चर्चा चुलिएको छ। उनी फिल्मका स्टार मात्रै होइनन्, निर्देशक पनि हुन् र स्क्रिप्ट पनि उनले लेखेका हुन्। साउथदेखि बलिउडसम्मका सबै सेलिब्रेटीले उनको कामको तारिफ गरेका छन्। कान्तारा केजिएफपछिको सबैभन्दा बढी कमाई गर्ने कन्नड फिल्म हो, जसले हिन्दी बेल्टमा लोभलाग्दो कमाई गरेको छ। अहिले ऋषभ शेट्टीको नाम सबै दर्शकको मुखैमा झुण्डिएको छ र यति ठूलो रातारात सफलता हासिल गर्न उनलाई झन्डै दुई दशक लाग्यो। हालैको एक अन्तर्वार्तामा ऋषभले आफ्नो पुरानो सङ्घर्षका दिनहरूबारे खुलासा गरेका छन्।
ऋषभ शेट्टीले हालै एक अन्तर्वार्तामा आफ्ना संघर्षका दिनहरूबारे चर्चा गरेका हुन्। उनले बताएअनुसार उनी पहिले पानीको बोतल बेच्ने र होटेलमा काम गर्थे। उनले सन् २००४ मा कन्नड फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेका हुँ तर सन् २०१४ सम्म निर्देशकको रुपमा कुनै फिल्म पाएनन्। धेरै वर्षको मेहनतपछि उनले पहिलो फिल्म पाए। कान्ताराले समिक्षक र दर्शकबाट पाएकोक सामान्य र सकारात्मक प्रतिक्रियाबाट ठूलो सफलता हासिल गर्न सक्यो र इन्डस्ट्रीमा आफ्नो एक प्रमुख नाम स्थापित गरेको छ। तर यो बाटो उनको लागि सहज थिएन।
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा ऋषभले खुलासा गरे, ‘करियरको सुरुवातमा मैले अनौठा खाले काम गर्न सुरु गरे किनकी मसँग फिल्म हेर्नको लागि पैसा पनि थिएन् र म मेरो बुबासँग सधैँ माग्न पनि सक्दिन्थे। त्यसपछि जे काम पाएँ, त्यही गरेँ। सन् २००४ मा मैले सुरुवात गरे र सन् २०१४ मा मैले मेरो पहिलो निर्देशन पाएँ, त्यसैले मैले १० वर्ष यसरी नै सङ्घर्ष गर्नुपर्यो।’
तर, कठिन समयमा पनि ऋषभ शेट्टीको मनोबल कम भएन। कठिन परिस्थितिमा पनि उनले फिल्ममा आफ्नो भाग्य खोज्ने प्रयास गरिरहे। कान्तारा स्टारले भने, ‘अभिनेता बन्न चाहन्थे तर सम्पर्क नहुँदा उद्योगमा अवसर पाइनँ। मलाई त्यतिबेला निर्देशक, निर्माताहरुसँग कसरी सम्पर्क गर्नेबारे पनि केही अत्तोपत्तो थिएन्। त्यसैले मैले एक कन्नड अभिनेताको बारेमा कहानी पढे कि उनले कसरी एक सहायक निर्देशकको रुपमा सुरुवात गरी केही सम्पर्क हासिल गरे। त्यतिबेला केही साइड रोल गरे र यसरी नै हिरो बने। त्यसपछि मलाई लाग्यो कि यो विधि हामीजस्ता मानिसहरूलाई ठिक हुन्छ। आफ्नो पढाईपछि मैले फिल्म निर्माणको छोटो अवधिको कोर्स गरेपछि सहायक निर्देशकको रूपमा काम गरेँ र ६-७ वर्षपछि अभिनयमा लागेँ।’
धेरै वर्षसम्म ऋषभले फिल्महरूमा गुमनाम पात्रहरूका भूमिका निर्वाह गरिरहे र अन्तत: कान्ताराबाट लोभलाग्दो स्टारडम हासिल गरे। १६ करोडको बजेटमा बनेको कान्ताराले उनलाई सफल अभिनेता मात्र नभई उत्कृष्ट निर्देशक र लेखक पनि बनाएको छ। फिल्मले विश्वभर ३२५ करोड भारुभन्दा बढी कमाएको छ भने यसको हिन्दी संस्करणले ५३ करोड भारुभन्दा बढीको व्यापार गरेको छ।