काठमाडौँ, टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातत्व विभागको आ–आफ्नै तर्क र अडान रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
प्राकृतिक रूपले निर्मित बाटोमा खोलानाला बग्नुपर्छ, त्यसमा कुनै किसिमको कृत्रिम छेकबार वा अवरोध सिर्जना गर्नु हुँदैन भन्ने तर्कका आधारमा टुकुचामा निर्माण गरिएको सुरुङ भत्काउनुपर्छ भन्ने महानगरको तर्क छ भने सय वर्षअघि नै निर्माण गरिएकाले सो सुरुङ पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्छ भन्ने पुरातत्व विभागको अडान छ ।
काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमाघरकोे कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ । पुरातत्व विभागद्वारा गरिएको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएको छ ।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहका पूर्वाधारविज्ञ सुनील लम्सालले खोलानालालाई आफ्नो बाटोमा बग्ने प्राकृतिक अधिकार भएकाले त्यसलाई कुनै पनि बहानामा रोक्न नमिल्ने, बाधा अवरोध सिर्जना गर्न नहुने बताउँदै टुकुचा खोलामा निर्माण गरिएको कृत्रिम सुरुङ भत्काएर खोलालाई पूर्ण रूपमा खुलाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातìव विभागले पनि सुरुङ भत्काएर खोला खोल्नबाट रोक्न सक्दैन ।”