काठमाडौँ, एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
पौडेलजस्तै यातायात कार्यालय पुगेर फर्किनेको सङ्ख्या दैनिक हजारौँ हुन्छ । खासमा लाइसेन्स नछापिएको होइन वितरण गर्ने कार्यालय लिन नगएर नै सेवाग्राही सास्तीमा छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुना र मीनभवनस्थित यातायात व्यवस्था विभागको दूरी करिब पाँच किलोमिटर मात्रै हो । सडकमा सवारी चाप रहेका बेला पनि गाडीमा २० मिनेटको बाटो हो तर एकान्तकुना कार्यालयका कर्मचारी महिनौँदेखि लाइसेन्स बुझ्न नआउँदा पाँच हजारप्रति लाइसेन्स विभागमै थन्किएका छन् ।
विभागका निर्देशक श्रीचन्द्र साहले भन्नुभयो, “प्रिन्ट भइसकेपछि सम्बन्धित कार्यालयमा लाइसेन्स लिन आउनुस् भनेर फोन नै गर्छौं तर लिन कोही आउँदैनन् ।” एकान्तकुना कार्यालय एक महिनादेखि लाइसेन्स लिन गएको छैन । एकान्तकुना कार्यालय प्रमुख राजकुमार कपालीले भने विभागबाट लाइसेन्स लिइरहेको बताउनुभयो । उहाँका अनुसार एकान्तकुनाबाट वितरण हुन बाँकी ३२ हजारप्रति लाइसेन्स कार्यालयमै छ ।
एकान्तकुना मात्र होइन उपत्यकामा रहेका अन्य यातायात कार्यालयका कर्मचारी पनि लाइसेन्स लिन जाँदैनन् । चाबहिल कार्यालयका झन्डै तीन हजार पाँच सयप्रति साइसेन्स विभागमै थन्किएका छन् । चितवनस्थित यातायात कार्यालयका तीन हजार पाँच सय लाइसेन्स प्रिन्ट भएर बसेका छन् तर महिनौँ भइसक्यो कर्मचारी लिन आएका छैनन् ।