काठमाडौँ – संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन। त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा रहँदै आएको छ। त्यसको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन्। यस क्षेत्रको चर्चा उनकै वरिपरि घुमेको छ। चितवन दाहालको गृहजिल्ला हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं १० बाट जितेका दाहाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा काठमाडौं १० र सिरहा ५ बाट लडेका थिए। त्यसबेला उनले काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहाबाट जिते। तर उनको त्यो जितलाई ‘सन्देह’का रूपमा हेरिन्छ।
यसरी गृह जिल्लाबाहिरको निर्वाचन ‘डरलाग्दो’ हुँदै गएपछि दाहालले २०७४ मा चितवन फर्कने मनशाय बनाए। चितवन पनि ‘सुरक्षित’ थिएन। जित सुनिश्चितताका लागि नेपाली कांग्रेस वा नेकपा एमालेसँगको तालमेल गर्ने जुक्ति उनले निकाले। जुन नेपाली राजनीतिमा खासै अभ्यास थिएन। २०७४ को स्थानीय निर्वाचनमा भने राप्रपा र एमालेले आंशिक स्थानमा तालमेल गरेका थिए।
दाहालले पनि २०७४ को स्थानीय तह निर्वाचनमा गृहनगर भरतपुरमा कांग्रेससँग तालमेलको पहिलो अभ्यास गरे। मेयर पदमा छोरी रेनु दाहालका लागि ‘छापामार’ शैलीमा उनले कांग्रेसका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराए। जसमा कांग्रेस सभापति शेरबहादुर देउवाको सहारा लिए। उपमेयरमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउने भयो। रेनुलाई चुनाव जिताउन ठुलै तिकडमबाजी गर्नुपर्यो। दाहालको मिसन सफल भयो । रेनुले मेयर जितिन्।
भरतपुरमा सफल भए पनि देशभर कांग्रेससँगको तालमेल सफल नहुने र आफ्नो निर्वाचन क्षेत्र पनि असुरक्षित हुने देखेका दाहालले सोही वर्षको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग देशव्यापी गठबन्धन गरे। त्यही गठबन्धनका बलमा उनी चितवन ३ मा आफैं उम्मेदवार भए। छोरी जिताउन कांग्रेसको साथ लिएका दाहालले आफू जित्न एमालेको साथ लिए।
एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि कांग्रेसले पनि राप्रपासँग गठबन्धन गरेर विक्रम पाण्डेका लागि चितवन ३ छाड्यो। यसरी गठबन्धनको रस्साकस्सीमा यो क्षेत्रका दुई बलिया शक्ति कांग्रेस र एमाले उम्मेदवारविहीन भए।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यही क्षेत्रमा रहेको भरतपुर महानगरपालिका गठबन्धनकै कारण चर्चामा रह्यो। २०७४ को संसदीय चुनावपछि जुटेको एमाले–माओवादी केन्द्रबीचको गठबन्धन पार्टी एकीकरण पूरा नहुँदै विभाजन भयो। माओवादी केन्द्र फेरि कांग्रेससँगकै गठबन्धनमा आइपुग्यो।
यही कारण दाहालले कांग्रेससँगकै गठबन्धनमा पुनः रेनुलाई मेयर बनाउन चाहे। चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले पटक–पटक उनलाई भरतपुर छाड्न नसकिने अडान लिए। यसबाहेक आफ्नो सहयोगमा जितेकी रेनुले कांग्रेसका विपक्षमा काम गरेको, अघिल्लो संसदीय निर्वाचनमा कांग्रेस उम्मेदवार हराउन लागेको आरोप लगाइरहे। अन्ततः केन्द्रको सहमतिले रेनुले मेयरको टिकट पाइन्। चितवन कांग्रेसका पुराना नेताहरू विद्रोहमा उत्रिए। नयाँ नेताहरू बाध्य भएर रेनुलाई जिताउन लागे।