काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत र असंवैधानिक कामको विरोध गरेकाले नै आफूले निर्वाचनमा टिकट नपाएको आरोप लगाएका छन् । रावलले आफूले राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष ओलीले चुनावमा टिकट नदिएको दाबी पनि गरे । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी रावलले आफूले सधैँ ओलीले गरेका राष्ट्रहित विपरीतका काम र असंवैधानिक कामको विरोध गर्दै आएको बताए । ‘पार्टीभित्र र पार्टीबाहिर केपी ओलीले गरेका स्वेच्छाचारी निर्णयको मैले सधैँ विरोध गर्दै आएको छु,’ उनले भने, ‘त्यसैको प्रतिशोध साँध्न मलाई चुनावमा टिकट दिइएन । ओलीको गलत कार्यको विरोध गर्नु नै अपराध भयो ।’
पार्टी विभाजन रोक्नका लागि आफूहरूले अघि सारेको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरिएको आरोप लगाए ।
रावलले दशकौँ पार्टीमा पसिना बगाएका इमानदार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेद्वार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरे । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र प्रदेश कमिटीबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएर आए पनि रावललाई एमालेले टिकट दिएको थिएन ।
भर्खरै पार्टी प्रवेश गरेकाहरूले समेत टिकट पाउँदा पनि आफूले टिकट नपाएपछि रावल ओलीसँग रुष्ट बनेका छन् । अध्यक्ष ओलीले पनि रावललाई पाखा लगाउने प्रयास गर्दै आएका छन् । एमालेको महाधिवेशनमा पनि रावलले अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेद्वारी दिएका थिए ।
आफूले टिकट नपाएपछि नेता रावलले एमाले छाड्न सक्ने अनुमान गरिएको थियो । तर, त्यसको ठिक विपरीत पत्रकार सम्मेलनमा रावलले आफूले एमाले नछाड्ने घोषणा गरे । उनले पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए ।
रावलले आफूले टिकट नपाए पनि ४ मंसिरमा हुने निर्वाचनमा योग्य र इमानदार उम्मेदवारलाई जिताउन लाग्ने बताए । उनले आगामी निर्वाचनमा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि भने मत माग्न नसकिने धारणा पनि व्यक्त गरे ।
उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरूलाई समेत टिकट दिएको भन्दै उनीहरूका लागि मत माग्न नसकिने बताए । ‘विगतमा पार्टीको उछित्तो काढ्ने, विदेशीका चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरूलाई पनि अहिले एमालेले समर्थन गरेको छ । त्यस्तालाई कुनै पनि हालतमा सहयोग गर्न र मत माग्न सकिँदैन,’ उनले भने ।