चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका हुन्। उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन पुगिसकेका छन्।
यसअघि चितवन-३ बाट उठ्ने तयारी गरेका उनले अन्तिम समयमा निर्णय परिवर्तन गरेर चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गरेका छन्। चितवन-३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र हो। लामिछाने सो क्षेत्रबाट उठ्ने भएसँगै प्रचण्ड गोरखा पुगेका छन्।
प्रचण्ड चितवन छाडेर गोरखा पुगेपछि लामिछानेले चितवनको क्षेत्र नम्बर २ रोजेको बताइएको छ। काठमाण्डौको २ र ३ मा पनि लामिछानेको चर्चा रहेको थियो।
चितवन क्षेत्र नम्बर २ का लागि एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ। यस अगाडी ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए।