बालेनको अभियानमा अर्को अड्को, नापी विभागले भूमिगत टुकचाको रेखांकन गर्न मानेन !

काठमाडौँ – नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो। ‘महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाइ चिठी लेखेर आग्रह गरेको थियो’, विभागका सूचना अधिकारी दामोदर ढकालले नागरिकसँग भने, ‘नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं।’

विभागका अनुसार काठमाडौंमा २००० सालमै भूमिको नापजाँच भएको थियो। त्यसपछि २०२१ र २०३२ सालमा जग्गा नापजाँच गरिएको थियो। २००० सालमा काठमाडौंभरि नापजाँच गरी मौजा नक्सा तयार गरिएको थियो। तर त्यसबेला जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्मको जग्गा नारायणहिटी दरबार र राणाकालीन दरबार क्षेत्रमा पर्ने भएकाले त्यहाँ नाप नापजाँच गरिएन।

२०३२ सालमा गरिएको नापजाँचमा जय नेपाल हलदेखि कमलादी मोडसम्मको ४ सय ४० मिटरमा टुकुचा खोला देखाइएको छैन। ‘त्यस क्षेत्रको जग्गा कानुनीरूपमै व्यक्तिका नाममा दर्ता गरी लालपुर्जा र नक्सा तयार गरेको देखिएको छ’, सूचना अधिकारी ढकालले भने, ‘रेखांकन गर्ने विषय नक्सामा भएको विवरणका आधारमा जमिनमा देखाउने काम हो। तर २०३२ सालमै नापजाँच भइसकेको जमिनमा उचाइ र गहिराइ मापन गर्न मिल्दैन।’ उचाइ र गहिराइ मापन गर्ने अधिकार कानुनी रूपमा नापी विभागलाई नभएको ढकालले बताए।

महानगरपालिकाले चिठी लेखेपछि विभागले यस सम्बन्धमा भूमि व्यवस्था मन्त्रालयलाई जानकारी गराएको थियो। त्यसपछि मन्त्रालयले सहसचिव जनक जोशीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको संयोजक जोशीले बताए। कार्यदलमा नापी विभाग र भूमि व्यवस्थापन विभागका प्रतिनिधिसमेत थिए।

कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रालयले मंगलबार महानगरपालिका र नापी विभागका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो। छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित उच्च कर्मचारी सहभागी थिए। छलफलमा पनि विभागका अधिकारीले टुकुचा भूमिगत भएको स्थानमा रेखांकन गर्न नमिल्ने बताएका थिए।

प्रकाशित : बिहिबार, असोज ०६, २०७९०८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूर्वप्रहरीहरुको राजनीति मोह !