पूर्वप्रहरीहरुको राजनीति मोह !

काठमाडौं । ‘इन्सपेक्टर हुँदादेखि उहाँको विचारलाई पछ्याएँ, ओली कामरेडको शीतल छहारी पाउने विश्वास छ’, नेकपा एमाले प्रवेश गर्ने क्रममा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राखेको मन्तव्यको छोटो अंश हो यो । लामो समय प्रहरी जीवन बिताएका र नेतृत्व तहमा समेत रहिसकेका खनालको यो भनाइ अर्थपूर्ण छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रहरीबाट सेवा निवृत्त हुनासाथ एमाले पछ्याएका खनालले पार्टीभित्र आफ्नो हैसियत नखुल्दै व्यक्त गरेको यो अभिव्यक्तिले प्रहरीभित्र राष्ट्रिय भाव कि राजनीतिक संरक्षण भन्ने प्रश्न उब्जाएको छ । त्यसो त खनाल मात्रै पूर्वप्रहरी होइनन्, सेवा निवृत्त भएपछि राजनीतिकमा प्रवेश गर्ने ।

खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्ती दिएपछि असन्तुष्ट बनेर राजीनामा दिएका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले त नयाँ पार्टी नै दर्ता गरेका छन् । उनको पार्टीको नाम हो, नेपाल सुशासन पार्टी । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनको पार्टीले पर्सामा एक गाउँपालिकाको अध्यक्ष पनि जित्यो । उनी आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट लड्ने तयारीमा छन् ।

खनाल र खरेलले लामो समय प्रहरी सेवामा जीवन अर्पण गरे । दुवै एक अर्काको खरो विरोधी पात्रको रूपमा चर्चित छन् । खरेल अहिले भएका राजनीतिक दलले देशमा सुशासन नआउने जिकिर गर्छन् । तर, खनाल राजनीतिक दलबाटै सुशासन कायम हुनेमा विश्वस्त हुँदै एमाले प्रवेश गरेका छन् ।

राजनीतिक दलमा प्रवेश गरेर प्रत्यक्ष निर्वाचनबाटै सांसद बने, नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल पनि । ०७४ साल असोजमा एमाले प्रवेश गरेका सिलवालले सोही वर्ष भएको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

तर, सिलवालले सोचेजस्तो राजनीति भएन । ओलीको प्रधानमन्त्रीकालमा गृहमन्त्री वा गृह राज्यमन्त्रीसम्म पाउने आशामा थिए, सिलवाल । उनको त्यो सपना भने पूरा हुन सकेन । फेरि पनि सिलवाल पुरानै निर्वाचन क्षेत्रबाट टिकट पाउनुपर्ने अडानमा छन् । प्रहरीमा हुँदै सिलवालले ‘मिटरब्याजी’ को गम्भीर आरोपसमेत खेप्नुपरेको थियो ।

प्रहरी नेतृत्वमा पुगेर राजनीतिमा प्रवेश गर्ने अग्रपंक्तिमा धु्रवबहादुर प्रधानको पनि नाम पनि आउँछ । उनी राप्रपा प्रवेश गरेर केन्द्रीय उपाध्यक्ष बने । तर, प्रधानले पदीय लाभ भने अहिलेसम्म पाएनन् । संसद्भित्र उनको अहिलेसम्म पाइला परेको छैन । प्रधानले आगामी निर्वाचनमा जसरी पनि सांसद बन्ने रणनीति अख्तियार गरेका छन् ।

प्रहरीका पुराना नेतृत्वले राजनीति छवीलाई पछ्याइरहेको अभिलेख छ । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोरा नेपाली कांग्रेसका पुराना नेतामा चिनिन्छन् । अछामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका बोहोरा संसदीय खेलमा भने छैनन् ।

तर, उनको कांग्रेससँगको नाता पुरानो हो । ०४९ सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी नेतृत्वबाट रत्नशमशेर जबरालाई हटाउँदै मोतीलाल बोहोरालाई आइजिपी बनाएका थिए । जबरालाई हटाउन त्यसबेला देउवाले प्रहरी नियमावली नै संशोधन गर्दै ३० वर्षे सेवा अवधि लागू गराएका थिए । यो गुन तिर्न बोहोरा प्रहरी सेवाबाट अवकाश पाएलगत्तै कांग्रेसमा प्रवेश गरेका थिए ।

पूर्वडिआइजी भक्तिनाथ माझी नेपाली कांग्रेसमा अहिले पनि सक्रिय राजनीतिमा छन् । प्रहरी सेवामा हुँदै विजयकुमार गच्छदारसँग निकट रहेका माझी अवकाशपछि पनि गच्छदारकै फेरो समाउँदै राजनीतिमा होमिएका छन् । गच्छदारले मधेस केन्द्रित पार्टी खोल्दा उतै प्रवेश गरेका माझी पछि पार्टी कांग्रेसमा मिसिएपछि कांग्रेसमै छन् ।

गएको स्थानीय तहको चुनावमा मेयरमा लड्न नेपाल प्रहरीका एसएसपी गोविन्द साहले बीचमै जागिर छाडेका थिए । नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकामा मेयरको टिकट आकांक्षी साहले टिकट नै पाएनन् । पार्टी नेतृत्वले आफूलाई ढाँटेको भन्दै साह अहिले सक्रिय राजनीतिमा छैनन् ।

प्रकाशित : शुक्रबार, असोज ०७, २०७९०६:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलको चाकडी, अवकाशपछि पार्टीको नेता !