बढ्यो सरकार र राष्ट्रपतिको दूरी !

काठमाडौं । संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् ।

गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । यसपछि दुवै सदनबाट हुबहु पारित गर्दै सरकारले पुनः २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो ।

राष्ट्रपतिको विधेयक प्रमाणीकरण नगर्ने कदमपछि सरकार र सत्ता गठबन्धनआबद्ध दलले भने राष्ट्रप्रमुखबाट संवैधानिक व्यवस्था उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । जसले सरकार र राष्ट्रपतिबीचको दूरी बढाएको छ भने यो विषय सर्वोच्च अदालत पुगेको छ ।

संविधानले राष्ट्रपतिलाई सरकारले पठाएको विधेयक पहिलोपटक संघीय संसद्मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, यसरी फिर्ता पठाएको विधेयक संघीय संसद््ले संशोधनसहित वा जस्ताको त्यस्तै फिर्ता पठाएमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । संविधानको धारा ११३ (४) मा यो व्यवस्था उल्लेख छ ।

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारूढ दलले गैरसंवैधानिक तथा जननिर्वाचित संसद्को राष्ट्रपतिबाट अपमान तथा अवमूल्यन भएको भनेका छन् । विद्येयक प्रमाणीकरण नगर्ने निर्णयपछि सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितका चार दलले बुधबार सो कदमको विज्ञप्तिमार्फत संयुक्त रूपमा विरोध गरेका हुन् ।

‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको छ,’ पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाहेकका चार दलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको छ ।’

प्रकाशित : बिहिबार, असोज ०६, २०७९०७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बालेनको अभियानमा अर्को अड्को, नापी विभागले भूमिगत टुकचाको रेखांकन गर्न मानेन !