काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको प्रति असन्तुष्टि पोखेका छन्। बुधवार हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएसँगै साहले सामाजिक संजाल मार्फत असन्तुष्टि पोखेका हुन्।
साहले सामाजिक संजाल मार्फत टुकुचा नदीलाई खोला भन्न नसक्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ? भन्दै अदालत माथि प्रश्न तेर्स्याएका छन्।
उनले लेखेका छन्,”फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?”
काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा बुधबार उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको थियो।
काठमाडौं महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि त्यहाँ रहेका २१ घरधनी र व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। ती मुद्दामाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले महानगरको नाममा कारण देखाउ आदेश जारी गरेको छ।