बुबाका दुवै मिर्गौला भए फेल, उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँछन् १५ वर्षका राजीव !

बेलबारी – राजीव साह भर्खर १५ वर्षमा हिँड्दै छन् तर उनको काँधले ३ दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ ।घर नजिकैको लक्ष्मी माविमा ९ कक्षामा अध्ययनरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ ।

मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे । केही महिनाअघि बुवाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ ।

बुवाको नियमितरूपमा हप्तामा २ पटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । ‘डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा ३ देखि ४ हजारसम्म खर्च हुने गरेको उनी बताउँछन् । सफारी कुदाएर दैनिक ४००–५०० आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गरे ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दिनचर्या बनेको छ । यो दिनचर्या बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा ८ कक्षामा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् ।

‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनी भन्छन् । स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसँग आग्रह गरे ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्यो सुन र चाँदी दुवैको मूल्य !