काठमाडौँ, असोज ४ गते । नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नुन उपभोग धेरै भइरहेको देखाएको हो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ तर सन् २०२० मा प्रकाशित स्वास्थ्य परिषद्को अध्ययनले नेपालीले दैनिक औसतमा ९.१ ग्राम उपभोग गर्ने गरेको पाइएको छ। परिषद्ले सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनालाई सहभागी गराएर यो अध्ययन गरेको थियो।
एउटा प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्नेमा अध्ययनमा सहभागीमध्ये ७०.८ प्रतिशतले प्रत्येक दिन ९.१ ग्राम नुन उपभोग गर्ने गरेको पाइएको छ भने २९.२ प्रतिशतले दैनिक १० ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइयो। सो अध्ययन समूहका अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले नेपालीको डब्लुएचओले तोकेको मापदण्डभन्दा दोब्बर आयोडिनयुक्त नुन उपभोग गर्ने बानीले स्वास्थ्यमा समस्या बढेको दाबी गर्नुभयो।
उहाँले आयोडिनयुक्त नुनको बढी उपभोग गर्ने बानीले उच्च रक्तचाप, मधुुमेह, थाइराइडलगायतका स्वास्थ्य समस्या आउने भएकाले स्वयं उपभोक्ता सचेत हुनुपर्ने र नियमनकारी निकायबाट नुन बढी उपभोग गर्दा स्वास्थ्यलाई पर्ने असरबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। खाद्यवस्तुको गुणस्तर र मापदण्ड तोक्ने अधिकार प्राप्त निकाय खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले एक÷डेढ वर्षदेखि शरीरलाई आवश्यकभन्दा नुन बढी उपभोगले जनस्वास्थ्यमा असर पार्ने भन्दै सचेतनाका कार्यक्रम गर्दै आएको जनाएको छ।
विभागका महानिर्देशक डा. मतिना जोशी (वैद्य)ले नेपालीको नुन बढी खाने बानीमा सुधार ल्याउन विद्यालय र कलेजका विद्यार्थीसँग सचेतनाका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “नुन बढी खाने बानी सुधार गर्ने काममा विभागले गर्ने भनेको त जनचेतनाका कार्यक्रम गरेर सजग गराउने मात्रै हो। प्रत्येक दिन शरीरलाई चाहिने नुन कति हो भन्ने विषयमा स्वयं उपभोक्ता नै सचेत हुनुपर्छ।”