काठमाडौँ – नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ। आइतबार बिहान बसेको एशोसिएसनको आकष्मिक बैठकले जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको हो। एशोसिएसनको बैठकले जबरालाई कुनै पनि हालतमा छिर्न नदिने निर्णय गरेको पाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको भनाई छ।
जबरामाथिको छानबिन र अनुसन्धान महाभियोग सिफारिस समितिले शनिबार टुङ्ग्याएको थियो। छानबिन सकाएर समितिले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ।
समितिलाई बयान दिसकेपछि जबराले शनिबार कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने जानकारी गराएका थिए। जबरा आइतबार सर्वोच्च फिर्ता हुने चर्चासँगै सरकारले सर्वोच्च अदालतमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा
निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् ।