केही दिन यस्ता गायिका समीक्षा अधिकारीको विषयमा सामाजिक सञ्जालमा विभिन्न किसिमको आलोचना भइरहँदा अहिले गायिकाले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् । जसमा उनले क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय नरहेको बताएकी छिन् । उनले आफूले विगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेको र उक्त घटनाले उनको र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुखद घटना भएको बताएकी छिन् ।
यस प्रकार छ गायिका समीक्षा अधिकारीले सार्वजनिक गरेको पोस्ट ‘मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शक बृन्दहरुमा मेरो हार्दिक नमस्कार, यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म विगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकी रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरूको साथ सहयोग र सकारात्मक बिचारले मेरो साङ्गीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’