प्रत्येक वडामा डक्टर र इन्जिनियर, फुड इन्सपेक्टर पनि राख्ने !

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा डक्टर, नर्स र इन्जिनियर राख्ने भएको छ । आइतबार बसेको आठौँ कार्यपालिका बैठकले ३२ वटै वडामा एक÷एक जना एमडिजिपी डक्टर र नर्स तथा इन्जिनियर राख्ने प्रस्ताव पारित गरेको छ ।हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यस्तो क्लिनिकमा रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने प्रस्ताव मेयर बालेन्द्र शाहले गरेका थिए । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहनेछन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसैगरी हरेक वडामा हुने विकास निर्माणका कार्यको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने प्रस्ताव गरिएको हो । मेयरको प्रस्तावलाई नगर कार्यपालिका बैठकले पनि अनुमोदन गरेको छ ।यसैगरी बैठकले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ । पछिल्लो समय महानगरले फुटपाथ व्यवस्थापन र अवैध रूपमा निर्माण गरिएका संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।

यसैगरी महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ । सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरूप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव गरिएको हो ।यसैगरी कार्यपालिका बैठकमा ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्तावसमेत गरेको छ । यसका लागि नगरपालिकाले यसअघि नै नौ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेको छ ।

यसैगरी महानगरपालिकाले पाँच जना कानुनी सल्लाहकार पनि राख्ने भएको छ । मेयर शाहले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए । त्यसपछि मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको बताइएको छ । यसअघि महानगरले चार जना कानुनी सल्लाहकार राखेको थियो ।

यसैगरी महनगरपालिकाले फुड टेक्नोलिजीमा स्नातकोत्तर गरेका पाँच जना कर्मचारी पनि करारमा राख्ने भएको छ । मेयर शाहले मासु पसल र खाद्य पसलहरूमा अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव गरेका थिए ।

बैठकले टेकुको फोहोर उठाउन १५ वटा टिपर भाडामा लिने निर्णय पनि गरेको छ । काठमाडौं महानगरपालिकाले बोन म्यारो भएको एक बालकलाई एक लाख रुपैयाँ उपचार खर्च दिने र बञ्चरेडाँडामा भएको प्रदर्शनमा घाइते स्थानीय कमल तामाङको उपचार खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।

सबै वडामा लिफ्ट जडान गर्ने प्रस्ताव पनि कार्यपालिका बैठकले पारित गरेको छ । काठमाडौं महानगरपालिकाले ‘घ’ वर्गको निर्माण व्यवसायीको अनुमति पत्र दिने अधिकार उपमेयरलाई दिने निर्णय पनि गरेको छ ।

यसैबीच, सुन्धारास्थित काठमाडौं मलको भवन नक्सा पासविना नै निर्माण भएको पाइएको छ । महानगरपालिकाले अवैध संरचना भत्काउन थालेपछि उक्त कुरा बाहिर आएको हो । काठमाडौं महानगरले गत बुधबार मात्र मलअगाडिका अवैध संरचना भत्काएको थियो ।

कर्मचारी सञ्चय कोषको उक्त भवनको नक्सा पास, भवन निर्माण इजजात र पार्किङ नभएपछि आइतबार महानगर र कोषको पक्षबीच छलफल भएको छ । छलफलपछि नगर प्रहरीका उपरीक्षक राजु पाण्डेले कोषले पार्किङ गर्न भवन खुला गराउने सहमति भएको जानकारी दिए ।

उनका अनुसार भवनको दुई तलामा पार्किङ खुला गर्ने सहमति भएको हो । त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिका लागि प्रक्रिया थाल्ने सहमति भएको छ । योसँगै मलले ०५७ सालमा पेस गरेको नक्साअनुसार महानगरले नक्सा पास गर्ने प्रक्रिया थाल्नेछ ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९०८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले ‘ब्याक’, अन्तर्घातीलाई कारवाही नगर्ने !