काठमाडौँ उपत्यकामा तीब्र फैलियो डेंगी संक्रमण, अस्पताल भरिन थाले !

काठमाडौँ – उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार डेंगीले सिकिस्तै भएपछि मात्र उपचारका लागि अस्पताल पुग्ने धेरै छन्। डा. पुनका अनुसार कतिपय बिरामीले परिवारका पुरै सदस्यमा डेंगी संक्रमण भएको बताउने गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

काठमाडौं मोडेल अस्पतालमा पनि डेंगी संक्रमणका बिरामी उपचारका लागि जाने गरेका छन्। उक्त अस्पतालका डा. अभिनव दाहालका अनुसार कतिपय बिरामीले घरमा आफूभन्दा पहिला अरूलाई पनि डेंगी भएको बताउने गरेका छन्। ‘अरूलाई पनि ज्वरो आएको छ, ज्यान दुखेको छ भन्दै उपचारमा आउने पनि छन्’, उनले भने।

‘एडिस एजिप्टाई’ नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगी संक्रमण हुन्छ। यो लामखुट्टे मनसुन सकिने समयतिर बढी सक्रिय हुन्छ। विशेष गरी पानी अडिने टायर, प्लास्टिकका बोतल, कुलरजस्ता स्थानमा यो लामखुट्टे बस्छ। लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट शरीरभरि संक्रमण फैलिन्छ। यो संक्रमण फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ।

डेंगी संक्रमित लामखुट्टेले टोकेमा संक्रमण हुन्छ। यो लामखुट्टेले टोकेको ३ देखि ८ दिनभित्र संक्रमण शरीरमा फैलिन्छ। कतिपयलाई सामान्य उपचारपछि निको हुन्छ। कतिपयमा आन्तरिक रक्तश्राव भई बान्ता हुने, मुखबाट रगत निस्कने, कडा ज्वरो आउने, शरीर दुख्नेजस्ता समस्या देखिन्छन्। डेंगीविरुद्ध कुनै खोप र औषधि नबनेकाले लक्षण अनुसारको उपचार गरिन्छ। सिभिल अस्पतालको आकस्मिक कक्षमा आइतबार पुगेका ३० बिरामीमध्ये २२ जनामा डेंगी पुष्टि भएको डा. राजीव श्रेष्ठले बताए।

आकस्मिक कक्षबाहेक बहिरंग विभागमा पनि डेंगीका बिरामी हुन सक्ने ती चिकित्सकले बताए। काठमाडौं मोडेल अस्पतालमा दैनिक ३५ देखि ४० जना डेंगीका बिरामी उपचार गराउन पुग्ने गरेको डा. दाहालले बताए।

प्रकाशित : सोमबार, भदौ १३, २०७९०७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७० वर्षमा सवा चार लाख ‘विदशी बुहारी’लाई ‍नागरिकता, सबै भन्दा बढी भारतीय ! [कति]