अनि बालेनलाई झोंक चल्यो …

काठमाडौं । मेयर बालेन्द्र (बालेन) शाहको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली नयाँ वानेश्वरको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना हटाउन पुग्दा उनी र अल्फा बिटाका घर मालिक द्विराज शर्माबीच भएको संवाद हो यो । झन्डै ४५ मिनेट बालेन र द्विराजबीच भनाभन भएको थियो ।

मेयर बालेनले म्याद दिँदा पनि संरचना हटाउन आलटाल गरेकाले जसरी पनि अनधिकृत संरचना हटाउने चेतावनी दिए । द्विराजले नक्सा तपाईंसँगै होला नि भनेर बालेनसँग प्रश्न गरेपछि केहीबेर भनाभनसमेत चल्यो । बालेन आक्रोशित बन्न पुगे । केही समयपछि विवाद त्यतिकै सामसुम भयो ।त्यसपछि बालेन फर्किए । दिउँसो डोजर र नक्सासहित महानगर र सुरक्षाकर्मीसहितको टोली लिएर बालेन पुनः अल्फाबिटा पुगे । उनले द्विराजलाई उनकै भवनको नक्सा देखाउँदै भने, ‘तपाईंको नक्सा मसँग छ, हेर्नोस् । खै पूर्वस्वीकृति लिएर संरचना बनाउनुभएको ? अब भत्काइन्छ ।’

मेयर बालेन प्रमाणसहित पुगेपछि भने द्विराज नरम बने । उनले भने, ‘मैले नक्सा स्वीकृतिका लागि महानगर पठाएको थिएँ । अहिलेसम्म स्वीकृत भएर आएन । मलाई केही दिन दिनोस् ।’ तर, उनको नरम बोलीले पनि बालेन पग्लिएनन् ।

बालेनले महानगरका कर्मचारीलाई डोजर चलाउन आदेश दिए । डोजरले अनधिकृत संरचना भत्काएरै छाड्यो । द्विराज हेरेको हे¥यै भए । उनीलगायत अल्फाबिटाका स्टाफले बालेनविरुद्ध नाराबाजी पनि गर्न भ्याए । तर, उक्त कार्यको प्रशंसा गर्नेहरू भने ताली पिटेर बालेनलाई हौँस्याएका थिए ।

अल्फाबिटाको भुइँ तल्लामा अल्फा केयर फार्मेसी, कफी सपलगायत अन्य व्यवसाय सञ्चालनमा रहेका छन् । अल्फाबिटाले भुइँ तलाको नक्सा पार्किङका लागि पास गराए पनि अन्य संरचना बनाइएको भन्दै भत्काउने निर्णयमा पुगेको जानकारी महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले दिए ।उनका अनुसार महानगरभित्र नक्सा पास गर्दा एउटा र व्यवहारमा अर्को काम गर्ने झन्डै ३५ वटा व्यावसायिक भवन छन् । महानगर ती सबै भवनहरूमा पुगेर अवैध संरचना भत्काउने अभियानमा छ । काफ्लेले भने, ‘महानगरपालिकाले पटकपटक मौखिक एवं लिखित रूपमा अवैध संरचना हटाउन निर्देशन दिँदा पनि नहटाएपछि बाध्य भएर हटाउन सुरु गरेका हौँ । यसमा मेयर साबको स्पष्ट निर्देशन छ ।’

स्रोतका अनुसार यसअघि महानगरको पटकपटकको आग्रहलाई व्यापारिक भवनका मालिकले राजनीतिक नेतृत्वलाई भनसुन गरेर रोक्दै आएका थिए । बालेनले स्वतन्त्र रूपमा मेयर जितेकाले पनि उनलाई काम गर्न सजिलो भएको महानगरका कर्मचारीहरू बताउँछन् ।

अल्फा बिटाले पार्किङका लागि बनाएको बेसमेन्टमा मोटो रकमको लोभमा नियम विपरीत होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । अल्फा बिटाको अवैध संरचनामा डोजर चलाएपछि मेयरले फेसबुक स्टाटस लेख्दै आपूmले केही नबिराएको बताएका छन् ।

उनले लेखेका छन्, ‘उहाँले आफ्नै भवनको नक्सा मसँग माग्नुभयो । म पनि अफिस पुगेर नक्सा र डोजर लिएर फर्किएँ । मैले के बिराएँ । अब उपरान्त यस्तो गर्न नपरोस् । सबैले आपैmँ बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाइदिनुहोला ।’

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफँैले अनधिकृत संरचना हटाउन थालेको हो ।

यसअघि बुधबार पनि काठमाडौं मल, न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो । बालेन एकाएक एक्सनमा उत्रिएपछि महानगरमा स्वच्छ छवि बनाएर काम गरिरहेका कर्मचारीको भने मनोबल बढेको छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक अधिकृतले भने, ‘अहिले मेयर साबले जे गरिरहनुभएको छ, त्यो धेरै अगाडि हुनुपर्ने थियो । तर, महानगरभित्रैका बिचौलिया कर्मचारीले नक्सा गायब पार्नेदेखि पहिल्यै सूचना पु¥याउने कामसमेत गरेका छन् ।’ उनका अनुसार यसअघिका मेयर विद्यासुन्दर शाक्यले पनि अवैध संरचना हटाउने प्रयास थाल्न खोजेका थिए । तर, व्यवसायीहरूले दलीय दबाबमा उनलाई त्यस्तो कदम चाल्नबाट रोकेका थिए ।

बालेनले फुटपाथका व्यापारीसम्मै पुगेर पसल नराख्न अनुरोध गरेका थिए । तैपनि फुटपाथ व्यवसायीले पसल हटाएनन् । फुटपाथ व्यवसायीलाई तर्साउने, धम्क्याउने र पैसा असुली गर्ने सूचना पाएपछि बालेनले महानगर प्रहरी प्रमुखलाई नै पनि फेरेका थिए ।

महानगरले ३५ दिने सूचना प्रकाशित गरे पनि घरधनीले त्यसलाई बेवास्ता गरेका थिए । त्यसको प्रत्यक्ष असर भने व्यापारीलाई परेको छ । घरधनीको स्वार्थ र महानगरको कानुन लागू गराउने द्वन्द्वको मारमा परेका व्यवसायीले ठुलै नोक्सानी बेहोर्नुपरेको छ ।

यस विषयमा व्यवसायीहरूले मेयर बालेनसँग गुनासो पनि गरेका थिए । बालेनले पनि यस विषयमा व्यवसायीकै पक्षमा बोलेका छन् । घरधनीको स्वार्थको मार व्यवसायीलाई पर्न नहुने उनको कथन छ । उनले अनधिकृत संरचना भत्काउँदा व्यवसायीलाई पर्न गएको नोक्सानीको भर्पाइ घरधनीले गर्नुपर्ने बताएका छन् । यसका लागि महानगरले व्यवसायीलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मेयरले व्यक्त गरेका छन् । – सौर्य दैनिकबाट

प्रकाशित : शुक्रबार, भदौ १०, २०७९१०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमालेले जिते ओली प्रधानमन्त्री बन्ने !