एमालेले जिते ओली प्रधानमन्त्री बन्ने !

काठमाडौँ – एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ। एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न र लोकप्रिय मत हासिल गर्न प्रधानमन्त्रीमा ओलीलाई अघि सारेर चुनावमा जाने निर्णय शनिबार केन्द्रीय समिति बैठकले गरेको हो। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भइसकेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

ओलीलाई एकपटक पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय बैठकले गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिए। उनका अनुसार मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सक्ने ‘भिजन’ भएको नेता चाहिएकाले ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो।

‘सत्ता गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को हुने भन्ने हानथाप छ। गठबन्धनको भिजन र मिसन के हो भन्ने पनि कसैलाई थाहा छैन। त्यसकारण जनताले मुलुकमा राजनीतिक स्थायित्व खोजेकाले त्यसका लागि अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय एमाले केन्द्रीय कमिटी बैठकले गरेको हो,’ ज्ञवालीले भने।

ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपालको मिचिएको भूमि समेटेर चुच्चे नक्सा जारी गरिएको थियो। २०७४ सालको निर्वाचनपछि ओली दोस्रोपटक प्रधानमन्त्री भएका थिए। पहिलोपटक प्रधानमन्त्री (संविधानसभाबाट संविधान जारी भएपछि) भएका बेला ओलीले भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेका थिए।

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि मुलुकलाई राजनीतिक स्थायित्व दिनु अहिलेको आवश्यकता रहेकाले प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीलाई अघि सारिएको बताए। मुलुकको आवश्यकतालाई ध्यान दिएरै यस्तो निर्णय गरिएको जिकिर उनले गरे।

‘अहिलेको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार तोकेर निर्वाचनमा जानु उपयुक्त हुने देखियो,’ एमाले उपमहासचिवसमेत रहेका गुरुङले भने। राष्ट्रियताको सवालमा दूरगामी निर्णय गर्न र त्यसलाई टुंगोमा पुर्‍याउन पनि दुईपटक प्रधानमन्त्री भएका ओलीलाई एमालेले फेरि प्रधानमन्त्रीका रूपमा अघि सारेको उनको भनाइ थियो।

प्रकाशित : आइतबार, भदौ १२, २०७९०९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दबाबमा राष्ट्रपति, नागरिकता विधेयक प्रमाणीकरण गर्न चौतर्फी प्रेसर !