काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई तह लगाउने चेतावनी दिएका छन्। बिहिबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको विषयमा टिप्पणी गर्दै बस्नेतले शाहलाई तह लगाउने चेतावनी दिएका हुन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले सामाजिक संजाल मार्फत बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्। त्यसक्रममा बस्नेतले अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको तस्विर समेत सार्वजनिक गरेका छन्।
अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने बस्नेतको शाहलाई चेतावनी छ।
“बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको? (१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? (२) हामीसँग नजिक भएर या फोटो लिएको कारण? पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।”,बस्नेतले सामाजिक संजाल मार्फत भनेका छन्।