काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका नेता महेश बस्नेतलाई जवाफ फर्काएका छन्। बिहिबार नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको विषयमा बस्नेतले विभिन्न प्रश्नहरु गरेपछि शाहले जवाफ फर्काएका हुन्।
शाहले बस्नेतको प्रश्नको जवाफ फर्काउँदै नक्सा पास अनुसार घर निर्माण नगरेको भएर डोजर लगाइएको बताएका छन्। त्यसक्रममा उनले बस्नेतलाई प्रतिप्रश्नपनि गरेका छन्।
शाहले बस्नेतको पोस्टमा कमेन्ट गर्दै भनेका छन्,”फोटो त मसँग पनि खिच्नुभएको छ। पहिलो कारण नै हो। नियम कानुन पालन सबैले गर्नु पर्छ कमरेड। बरु, हजुरको घरको नक्सा पास छ कि छैन ?”
नेता बस्नेतले बिहिबार राति तह लगाउने चेतावनी दिएका थिए। बस्नेतले सामाजिक संजाल मार्फत बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका थिए।
“बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको? (१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? (२) हामीसँग नजिक भएर या फोटो लिएको कारण? पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।”,बस्नेतले सामाजिक संजाल मार्फत भनेका थिए।