काठमाडौं । काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरु गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं मल पुगेको थियो । मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउन पुगेका थियो ।
कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरु गरेको बताउनुभयो । ‘डबल पार्किङ स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हौं ।’ –कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो ।
आरबी कम्प्लेक्स व्यवस्थापनले पार्किङस्थलमा करिब डेढ दर्जन बढी पसल सञ्चालन गर्न दिएको थियो । ‘हामीले सबै हटरा हटाइदिएका छाैं ।’ –उहाँले भन्नुभयो । सुन्धारा र न्युरोड क्षेत्रका सपिङ मल भत्काउन वडाध्यक्ष चीनकाजी श्रेष्ठसमेत सहभागी हुनुभएको थियो । वडाध्यक्ष श्रेष्ठले मापदण्डको उल्लंघन गरी मनोमानी रूपमा संरचना बनाएपछि भत्काइएको जानकारी दिनुभयो । सटर भत्काउँदा व्यापारीले हारगुहार गरेका थिए ।
अधिकांश व्यापारीले दशैंसम्म नभत्काउन गरेको आग्रह महानगरले सुनेको नसुनेझंै गरी एकाएक भत्काउन शुरु गरेको थियो । महानगरले न्युरोडस्थित नबिल बैंक रहेको भवनको भूमिगत तलामा रहेको संरचना हटाउन निर्देशन दिएको थियो । उता, संरचना भत्काउने सूचना पाएलगत्तै प्रहरीले पसलबाट सामान हटाउन सहजीकरण गरेको थियो । टोलीले दिउँसो दरबारमार्ग पुगेर मापदण्डविपरीत बनेका संरचना एक-दुई दिनभित्रै हटाउन निर्देशन दिएको थियो ।