चीनले नाका नखोल्दा नेपालमा समस्या, एक किलो नुनको ७५ रुपैयाँ !

Yaks being used to transport salt in Khatyang of Mugu district, on Thursday, August 25, 2016. Photo: RSS

मुगु । जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ । हरेक वर्ष १५ साउनदेखि साउन अन्तिमसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङवासी निराश बनेका छन् ।

१५ दिनका लागि अस्थायी रूपमा खुल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्ष भरिका लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे । तर, कोरोना महामारीका कारण तीन वर्षयता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधारण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउँछन् ।

सुर्खेत र नेपालगञ्जदेखि सामान किनेर ढुवानी गर्दा बस्तुको मूल्यभन्दा ढुवानीको मुल्य चार÷पाँच गुणा बढी पर्ने गरेको उनको भनाइ छ । उत्तरतर्फको अस्थायी व्यापारी नाका नखुल्दा स्थानीय महँगो पैसामा खाद्यान्न किनेर दैनिक जोहा गर्न बाध्य भएको उनले बताए ।

तीन वर्षदेखि उत्तरी व्यापार नाका बन्द हुँदा खाद्य बस्तु, लत्ताकपडालगायत दैनिक उपभोग्य बस्तुको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिका–२ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दासमेत नाका खुल्ने/नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ ।

तिब्बती ब्यापारी नाकाबाट खाद्यान्न लगायतको उपभोग्य बस्तु ल्याएर बाँच्ने गरेको डोल्फु गाउँका ग्याल्जन लामाले बताए । नाका नखुले आपूmहरूलाई परिवार पाल्न मुस्किल हुने उनको गुनासो छ । १५ साउनदेखि मसान्तसम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजीमारामा तिब्बती व्यापारीले अस्थायी हाट बजार सञ्चालन गर्ने गर्छन् । त्यही हाट बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु, ताखा, खारी, किम्री, रिउस, पुअ, मह मांग्रीलगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य बस्तु, नुन, तेल लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्छन् ।

घोडा, खच्चर, चौरी र गधालाई बोकाएर अत्यावश्यक बस्तु ढुवानी गरी ल्याउने गरेको किम्री गाउँका जिक्टोल लामा बताउँछन् । उत्तरी व्यापारी नाका बन्द हुँदा गरिबीसमेत बढेको उनको भनाइ छ । खेत गरामा अन्नबालीसमेत उत्पादन हुन छाडेको र उत्तरी व्यापारी नाका पनि तीन वर्षयता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बत्ताउँछन् ।

२५ केजी चामलको मुगु सदरमुकाम गमगढीमा १८ सयदेखि २ हजार २ सयसम्म पर्छ । त्यही चामल कार्मारोङका विभिन्न गाउँ बस्तीसम्म पुग्दा ६ हजार रुपैयाँसम्म पर्ने गरेको स्थानीय बताउँछन् । एक केजी नुनको सदरमुकाममा नौ रुपैयाँ पर्छ भने कार्मारोङमा ७५ रुपैयाँसम्म पर्ने गरेको छ ।

सामान किनेको मूल्यभन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् । सुर्खेत र नेपालगञ्जमा १ हजार २ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म पर्ने चामल मुगु सदरमुकाम पुगाउन प्रतिकेजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ ।

प्रकाशित : सोमबार, भदौ ०६, २०७९०७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन १९ दिनकै सस्तो !